राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै, अहिलेसम्म दुई उम्मेदवार तय

काठमाडौं : राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ।
आज बिहान ११ बजेदेखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ।
राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन्।
माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालका सहोदर भाइ नारायण दाहाल उम्मेदवार बन्दा कांग्रेसबाट युवराज शर्मा उठ्दैछन्।
बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।
दाहाल भने २०७८ मा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।
सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।
माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो।
उपाध्यक्षमा एमालेको उम्मेदवार बन्ने सहमति छ।
फागुन २८, २०८० सोमबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।