कानुनमन्त्री गिरी भन्छन्’ शक्तिहरूको चलखेलले सरकार परिवर्तन भइरह्यो’

कानुनमन्त्री गिरी भन्छन्’ शक्तिहरूको चलखेलले सरकार परिवर्तन भइरह्यो’

गण्डकी : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नेपालमा छोटो छोटो समयमा सरकार परिवर्तन हुनुमा विभिन्न शक्तिहरूको चलखेल रहने गरेको दाबी गरेका छन्।

गाउँपालिकाको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले देशमा भएको राजनीतिक अस्थिरता, वर्ष दिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताए।

‘हामीले जुन ढङ्गले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौँ। यो यथार्थ हो', उनले भने।

उनले २०७९ मंसिर ४ को निर्वाचनको परिणामले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताए। एउटै पार्टीले बहुमत प्राप्त नगर्दा पाँच वर्ष काम गर्न नपाएको उनले बताए।

‘एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछि त्यो काम छोडेर अर्को काममा प्रवेश गर्छ,’ उनले भने’जसले गर्दा हाम्रो राज्यका अर्बौअर्ब लगानीहरू बालुवामा पानी हालेजस्तो भएको छ। हाम्रा विकासको गति रोकिएका छन्। विकास र संवृद्धि र सपनाहरू त्यतिकै अधुरो भएका छन्।‘

उनले जनतामा चरम निराशा बढ्नु र आत्मविश्वास गुमाउनुको कारण विचार नमिल्ने दलहरुबीचको गठबन्धन सरकार भएको तर्क गरेका थिए। उनले अब त्यस्तो अवस्था नआउने दाबी गरेका थिए।

उनले विगतमा थोरै  समय मात्र स्वास्थ्य मन्त्री भए पनि गरिब जनताहरूले नेपालमा जस्तोसुकै ठुलो रोग लागे पनि निःशुल्क उपचार गर्ने,  कोही उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भनेर मन्त्रालयमा छिरे पनि सबै कुरा बुझेर काममा जान गियर बदलेर अगाडि बढ्दै जाँदा सरकार छोडेर हिँड्नुपर्ने अवस्था आएको बताउँदै कानुनमन्त्रीका रूपमा पाएको जिम्मेवारीलाई भूईंमान्छेले महसुस गर्ने गरी पूरा गर्ने वाचा गरेका थिए।

२७ फागुन, २०८०, २०:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।