काँडेतार : हावा राष्ट्रवादले दर्शकलाई मूर्ख बनाउन असफल फिल्म

लिपुलेक अनि लिम्पियाधुरा आफ्नो सीमामा राखेर नयाँ नक्सा जारी त भयो। तर त्यही नक्सा सार्वजनिक गर्न पनि हच्किरहेको छ सत्ता। पाठ्यपुस्तकमा चुच्चे हैन उही बुच्चे नक्सा छ अझै। नक्साको विवादमा सत्तामा चढ्ने र ओर्लने तहसम्मको गम्भीर विषय बनेका छन्।
यो भने सीमा समस्याको राष्ट्रिय विषय। नेपाल-भारतबीचको खुल्ला सीमाका कारण मधेसमा बस्ने अधिकांश नेपाली नागरिक पीडामा छन्। बेलुका नेपालतिरकै भूभागमा सुतेका उनीहरू ब्यूँझँदा जमिन भारततिर परिसकेको हुन्छ।
सात वर्ष अघि झापाका वीरबहादुर सुब्बाकै अवस्था नियालौँ न। २०३२ सालतिर उनी बसिरहेको मेचीनगर ११ भान्साखोलामा पर्ने जमिन उनको थियो। १० वर्षपछि भारतले सीमा स्तम्भ सार्दा उनीसहित १२ घरधुरीको जमिन भारतमा पर्यो।
५० र ५१ नम्बरका पिलर नेपाली जमिनभन्दा करिब ५ सय मिटर वरै गाडिँदा त्यस क्षेत्रको ६० बिगाहा नेपाली जमिन भारतीय भयो।
सीमा विवादकै कारण २०७३ सालमा नेपाली नागरिक गोविन्द गौतमको ज्यानै गयो। कञ्चनपुरको आनन्द बजारमा आफ्नै भूमिमा कल्भर्ट बनाउँदा भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा गोविन्दको ज्यान गएको थियो।
तत्कालीन राजा महेन्द्रले बसालेको कञ्चनपुरको भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजार पुनर्वास गाविसमा भारतीय सीमा सुरक्षा बलको ज्यादती चर्को छ।
भारतीय सुरक्षा फौज हतियार सहित नेपाल प्रवेश गर्नु सामान्य घटना भइसके। सीमाका नेपाली नागरिकहरूको यस्तै पीडा समेटेर शुक्रवारबाट फिल्म ‘काँडेतार’ प्रदर्शनमा आयो।
फिल्मको प्रिमियरको अतिथि बनेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूले सीमा समस्या समाधान गर्न सीमामा तारबार लगाउने कुरा गर्दा प्रधानमन्त्री पदमा टिक्न नदिएको दाबी गरेका थिए।
फिल्म काँडेतारका हकमा पनि यस्तै भयो। यो समीक्षा लेखिरहँदा हलमा फिल्म टिक्न सकेन। निर्माण टिमले शनिवारै फिल्म हलबाट हटाउने घोषणा गरिसकेका थिए।
फिल्मको लेखन, निर्देशन र मुख्य कलाकार समेत रहेका नवल खड्काले हल सञ्चालकहरूले विदेशी फिल्मलाई उच्च सो दिएर भेदभाव गरेको बहाना बनाउँदै फिल्म हलहरूबाट उतार्ने घोषणा गरे। तर शोजहरु हेर्दा करिब एक सय ५० शोजहरुमा अहिले हलमा लागिरहेका विदेशी फिल्महरूले बढीमा ५० जति मात्रै शोजहरु पाइरहेका छन्।
सय हाराहारीका शोजहरु त नेपाली फिल्मले नै पाइरहेको छन्। यस्तोमा कसरी विदेशी हस्तक्षेप भयो? १ घण्टा ५५ मिनेटको फिल्म हलमा नटिक्नुको कारण विदेशी हस्तक्षेप नभई कमजोर पटकथा र न्यून गुणस्तर मुख्य कारण देखियो।
उनले फिल्मको प्रचार गर्न सस्तो राष्ट्रवादको सहयोग लिँदै फिल्मको व्यापारबाट कमाउने केही प्रतिशत रकम खर्चिएर सीमामा काँडेतार लगाउने हावादारी दाबी गरे। आफ्नो निजी जग्गामा तारबार लगाउन त सँधियारको अनुमति लिनुपर्छ। नवलले चाहेर नेपाल-भारतको सीमामा काँडेतार लगाउन सम्भव छ?
ल काँडेतार लगाउन पनि सकियो रे। तर नवलको फिल्मको नाफाको २५ प्रतिशत खर्चिएर नेपाल-भारतबीचको एक हजार ८ सय ८० किलोमिटर लामो खुल्ला सीमामा तारबार गर्न सक्छन्?
राष्ट्रवाद जल्दोबल्दो विषय हो। तर यस्तो हावा गफ पत्याएर सीमामा तारबार लगाउने स्रोत जुटाउन हलमा ओइरिने दर्शक एकादेशको विषय हो। अहिलेको पुस्ता यस्ता उडन्ते दाबीको पछि लाग्दैनन्। जसको नतिजा फिल्म दुई दिन मात्र टिक्यो हलमा।
उनले यस अगाडि फिल्म ‘भीमदत्त’,‘दशगजा’ बनाएर यस्तै राष्ट्रवादको चर्का गफ दिएका थिए। उनलाई पछ्याउने सीमित दर्शकहरुले नवलको राष्ट्रवाद फिल्म रिलिजको बेलामा मात्र जाग्ने चाल पाइसकेका थिए। त्यसमा अर्को मार एकै दिन तीन नेपाली फिल्म रिलिज भए।
केही दर्शक रंगेलीको फिक्का कथा हेर्नतिर लागे, केही अघिल्लो हप्ताको अगस्त्य हेरेर दिमाग रिङग्याउन लागे, केही रेखा थापाको उपहारतिर लागे। उनको फिल्मको भागमा दैनिक ८-१० शोहरु मात्र पर्यो। त्यो पनि ३० प्रतिशत जति भरिएपछि बेइज्जत हुनुभन्दा घोषणा गरौँ भनेर’ राष्ट्रवाद’ जोडेर हलबाट फिल्म उतारे।
सीमा समस्याको समाधान पर्खाल या काँडेतार नै हो त? पक्कै हैन। यसको समाधान राजनीतिक र कूटनीतिक तहबाट मात्र सम्भव छ। तर उनले फिल्मको मूल थिम नै नेपाल-भारतबीचको सीमा रक्षाका लागि सीमामा सके पर्खाल, नसके काँडेतार लगाउनुपर्छ भन्ने बनाए। अहिलेका स्मार्ट दर्शकले नेताको हावा गफभन्दा बढी दम देखेनन् फिल्मको सन्देशमा।
सीमा समस्या, विषयका हिसाबले संवेदनशील विषय हो। तर फिल्म निर्देशनको क्रममा उनमा त्यो गम्भीरता देखिएन। दर्शकले काँडेतार हेर्दा त्यो राष्ट्रवादको अनुभवै गर्न सकेनन्।
उनी आफैँ निर्माता, आफैँ निर्देशक अनि आफैँ मुख्य कलाकार भए यो फिल्ममा। फिल्म निर्माणकोक्रममा सबै जिम्मेवारी एक्लै लिएर हो कि उनी मुख्य समस्यामा प्रवेशै गर्न सकेनन्।
फिल्मको कथासार तर्फ लागौँ
भारतीय सीमानामा जोडिएको पूर्वी जिल्लामा नवल क्षेत्री (नवल खड्का) श्रीमती र छोरीसँगै बस्छन्। भारतीय सीमा सुरक्षाका सुरक्षाकर्मी गाडीमा ओहोरदोहोर गरिरहन्छन्। नेपालकै पिल्लरसम्म पनि नेपाली जान पाउँदैनन्।
भारतीय सुरक्षा फौजले दमन गरेको भन्दै स्थानीयले रातारात नेपाल-भारत सीमामा पिल्लर गाड्छन्। त्यसले स्थानीय र भारतीय सीमा सुरक्षा फौजबीच द्वन्द्व सुरु हुन्छ। नवल सीमा रक्षामा उत्रिन्छन्। उनी सीमा सुरक्षामा सफल हुन्छन् या हुन्नन् फिल्मको मूल कथा यही हो।
फिल्ममा उनले राजनीतिक तह प्रतिको आम नागरिकको वितृष्णा संवादमार्फत व्यक्त गराएका छन्। ‘नेपाल हाम्रो घर हो, डेरा होइन’ जस्ता पञ्च लाइन फिल्ममा समावेश छ।
तर कमजोर ध्वनि, क्लिशे संवाद र अल्मलिएको पटकथाका कारण फिल्म गम्भीर विषयमार्फत दर्शकको मन छुन असफल भयो। साउन्ड स्रिङक ध्वस्त छ फिल्ममा। फिल्ममा एउटा पात्र बोलिरहँदा तीन पात्रको आवाज सुनिन्छ।
स्थानीयसँग छलफलमा बोलेको पात्रको ओठको लय र शब्दबीच मेलै हुन्न। नवल र अर्का पात्रबीचको संवादमा गरेको हेलचेक्य्राइँ डबिङमा कतिसम्म बेवास्ता गरेर फिल्मको काम सक्काएको रहेछ भन्ने देखिन्छ।
भारतीय गुप्तचरबाट मारिएकी श्रीमतीलाई खोलामा जलाउने अनि छोरीको शव गाडिएको मार्मिक दृश्य समेटेका छन्। तर फिल्मको प्राविधिक पक्षको कमजोरीले यस्तो मार्मिक दृश्य पर्दामा चलिरहँदा पनि दर्शकको आँखा रसाउँदैन।
फिल्मको मध्यान्तर अगाडि जङ्गलको बिचमा गाडीभित्र भारतीय गुप्तचरसँग भिडिरहेका नवल एकै पटक गाउँको बिचमा आइपुग्छन् सूपरम्यान शैलीमा।
काठमाडौँबाट घुम्न निस्किएका रेबिका,सुरबिना र गौरवको कहाँ र कुन उद्देश्यले हिँडेका हुन् अनि फिल्ममा खुल्दैन।
नवल खड्का, रेबिका गुरुङ,गौरव पहारी लगायतका कलाकारको अभिनय पनि औसत मात्रै छ। फिल्ममा समावेश टाइटल गीत दर्शकले सम्झन सक्ने स्तरको छ। फिल्मको खिचाई ठिकठिकै छ।
गम्भीर विषयको उठान गर्दा दर्शकको भावनासम्म पुग्न सक्नुपर्छ। संवादले दर्शकको मन चस्स बनाउन सक्नुपर्छ। यो मामिलामा नवल पूर्ण असफल भए। फिल्म रिलिज भएको दोस्रो दिनै हलबाट उत्रिनुमा विदेशी तत्वको षड्यन्त्र हैन निर्देशक नवलले प्रचारमा गरेको हावा दाबीको तत्त्व नै जिम्मेवार देखिन्छ।
‘काँडेतार’को व्यापारिक अवस्थाले’ दर्शकलाई एक पटक मूर्ख बनाउँदैमा सधैँ मूर्ख बनाउन सकिन्छ भन्ने हुन्न भन्ने पुष्टि भएको छ। तर फिल्म निर्माता, निर्देशक तथा लेखक नवलले यही फिल्मको नतिजाले चेत्छन् वा अब सीमामा तार हैन पर्खालै लगाउने कथामा अर्को फिल्म बनाउँछन् यसै भन्न सकिन्न।
फागुन २७, २०८० आइतबार २०:०२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।