बालुवाटारमा प्रचण्डलाई सिटौलाको चेतावनी’ धोकाको राजनीति यहीँ टुङ्गिने नसोच्नुहोला’

बालुवाटारमा प्रचण्डलाई सिटौलाको चेतावनी’ धोकाको राजनीति यहीँ टुङ्गिने नसोच्नुहोला’

काठमाडौँ : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीको कार्यकारी पदमा समेत नबसी शान्त रूपमा बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभा अध्यक्षको प्रस्ताव गरेर धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन्।

कांग्रेस महामन्त्री गगन थापा र पार्टीको प्रमुख सचेतक रमेश लेखकलाई लिएर उनले आइतबार प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटेर आफू राष्ट्रिय सभाको सदस्य मात्र हुन इच्छुक नभएको अवस्थामा अध्यक्ष नै बनाउने भनेर पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको वचनपछि उम्मेदवार बनेको बताएको भेटमा सहभागी एक नेताले उकेरालाई बताए।

भेटमा सिटौला आक्रोशित थिए भने प्रधानमन्त्री प्रचण्ड शान्त। राष्ट्रिय सभाको अध्यक्षको प्रस्ताव गरेर अन्तमा धोका दिएको भन्दै उनले प्रचण्डलाई धोकाको शृङ्खला यही अन्त्य नहुने चेतावनी दिएका थिए।

उनले भेटमा पटक-पटक शान्तसँग बसेको व्यक्तिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भन्दै उम्मेदवार बनाएर पछि त्यही बहाना देखाएर धोका दिएको भन्दै प्रचण्डको आलोचना गरेका थिए।

सिटौला कोशीबाट तत्कालीन गठबन्धनको उम्मेदवार बनेर राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए। सिटौलालाई कांग्रेसले उम्मेदवार बनाउँदा गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्ष हुनेगरी उम्मेदवार बनाउने सहमति भएको सार्वजनिक भएको थियो।

सिटौलालाई हराउन एमाले र राप्रपाको गठबन्धन बनेपछि माओवादी केन्द्रका नेता तथा वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन कोशीमा पुगेर गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका खेलेकाले सिटौला राष्ट्रिय सभाका लागि योग्य व्यक्ति भएको भन्दै उनको पक्षमा प्रचारमा सहभागी भएका थिए।

टिआरसी विधेयकको बहानामा एमाले अध्यक्ष केपी ओलीसँग बारम्बार भेट गरेर सत्ता फेरबदलको रणनीति बनाएको र गठबन्धनमा रहेका दलका नेताहरूलाई धोका दिएको भन्दै प्रचण्डको आलोचना गरेका थिए।

शान्त रूपमा सिटौलाको आलोचना सुनेपछि प्रचण्डले गठबन्धन टुट्नुको कारणहरू खुलाउँदै पुरानै कुरा दोहोर्याएका थिए। उनले कोशिकै राष्ट्रिय सभा निर्वाचनमा आफ्नो उम्मेदवारको हार हुनु, कांग्रेस महासमितिको बैठकमा गठबन्धन नगर्ने छलफल हुनु अनि ‘जनयुद्ध’ लाई आक्षेप लगाएर राजनीतिक प्रतिवेदन पेस हुनु, हिन्दु धर्मबारे छलफल हुनु र मन्त्रीपरिषद् पुनर्गठनमा देउवाबाट सहयोग नहुँदा नयाँ गठबन्धन बनाउन बाध्य भएको तर्क गरेको छलफलमा सहभागी स्रोतले बतायो।

गठबन्धन टुट्नुको कारणबारे प्रधानमन्त्री प्रचण्डले लामो व्याख्या गर्दा चिढिएका सिटौलाले’  धोकाको राजनीति यहीँ टुङ्गिन्छ भनेर नठान्नुहोला’ भनेर चेतावनी दिएका थिए।

फागुन २७, २०८० आइतबार १७:५८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।