इलाम-२ को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए एमालेमा निवेदन

इलाम-२ को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए एमालेमा निवेदन

काठमाडौं : दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन्।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन्।

उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन्। भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनीनिकट नेताहरूले बताएका छन्।

एमाले जिल्ला कमिटीले चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न कार्यदल गठन गरेको थियो। सम्भावित उम्मेदवारको नाम कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा बनाइएको कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम सदस्य छन्।

कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी पाएको सचिव गुरुङले जानकारी दिए।

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए।

फागुन २७, २०८० आइतबार १४:३७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।