विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि कुटिए नेता श्रेष्ठ

विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि कुटिए नेता श्रेष्ठ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारको विषय उठाएपछि उनीमाथि कुटपिट भएको हो।

खाना खाएपछि पुन: बस्ने गरी बैठक स्थगित भएको थियो। त्यही बेला नेता श्रेष्ठ बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि हातपात भएको हो।

उनीमाथि महामन्त्री विक्रम पाण्डेका समर्थकले कुटेको बताइएको छ।

बैठकमा भ्रष्टाचारको कुरा उठाउँदा श्रेष्ठ र अर्का नेता विक्रम पाण्डेबीच भनाभन भएको थियो। बैठकमा ‘भ्रष्टाचारका विषयमा ठूला कुरा नगरे हुन्छ’ भनेर पाण्डेलाई श्रेष्ठले भनेका थिए।

त्यसपछि महामन्त्री पाण्डे जंगिएका थिए।

बैठकमा भनाभन बाहिरिएका श्रेष्ठलाई केही मान्छेहरूले खेदिरहेका थिए। त्यसपछि उनीहरूले नै कुटेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ।

यसबारे पार्टी अध्यक्ष लिङ्देन र पार्टीले भने कुनै जवाफ दिइसकेको छैन।

 

फागुन २७, २०८० आइतबार १३:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।