‘पुजार सार्की’मा ‘मैत बहादुर’ बनेका प्रदीपको भूमिका कस्तो होला !

‘पुजार सार्की’मा ‘मैत बहादुर’ बनेका प्रदीपको भूमिका कस्तो होला !

काठमाडौं : चलचित्र ‘पुजार सार्की’को छायांकन सेटबाट अभिनेता प्रदीप खड्काको लुक्स सार्वजनिक भएको छ।

उनको जन्मदिनको अवसर पारेर निर्देशक दिनेश राउतले प्रदीपका २ वटा तस्विर सार्वजनिक गर्दै उनको पात्र परिचय समेत गराएका छन्।

फोटोमा प्रदीप लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन्।

प्रदीपको यस फिल्ममा ‘मैत बहादुर’को भूमिका रहेको बताइएको छ। फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय प्रष्ट पारेको छ।

जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा निर्माण भएको फिल्मलाई निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन्। उनले थरलाई गोप्य राखेका छन्।

फिल्ममा प्रदीपका अलावा आर्यन सिग्देल, पल शाहले मुख्य भूमिका निवार्ह गर्दैछन्।

विकास सुवेदीले लेखेको फिल्ममा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन्। अन्जनाले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन्।

परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन्।

फागुन २७, २०८० आइतबार १३:१९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।