राष्ट्रिय सभा अध्यक्षको उमेदवार छान्न माओवादीको पदाधिकारी बैठक बस्दै

राष्ट्रिय सभा अध्यक्षको उमेदवार छान्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने भएको छ।

आज साँझ ५ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणा हुँदैछ। यही फागुन २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन गरिने कार्यतालिका घोषणा गर्न लागिएको हो।

नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको छ।

अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरू झक्कुप्रसाद सुवेदी र नारायण दाहालको दावी छ।

महिला भएको र हाल उपाध्यक्ष रहेका कारण अर्याललाई अध्यक्ष बनाउनुपर्ने पार्टीमा धेरै नेताको जोड रहेको सचिव गणेश साहले बताए।

यस्तै, सुवेदीको ६ वर्षे कार्यकाल रहने भएकोले बलियो दाबेदार रुपमा रहेको साहले जानकारी दिए।

पार्टी अध्यक्ष प्रचण्डले आफ्नो भाइ भएको कारण नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने चर्चा रहे पनि पदाधिकारीले छलफल गरेर टुंग्याउने साहको भनाइ छ।

फागुन २७, २०८० आइतबार ०८:५८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।