उमेर पुगेर विवाह गर्ने जोडी सम्मानित, अध्यक्षले दिए ४१२५ रूपैयाँ गाडी भाडा

उमेर पुगेर विवाह गर्ने जोडी सम्मानित, अध्यक्षले दिए ४१२५ रूपैयाँ गाडी भाडा

काठमाडौं : डोटीको जोरायल गाउँपालिका ६ नम्बर वडाले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ।

वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो।

सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका ३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको सम्बन्धित वडाका अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिए।

बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो।

'नवविवाहित दम्पतीको हामी माइती परेकाले गाडी भाडास्वरूप ४ हजार १ सय २५ पनि दियौँ', उनले भने।

यसरी सम्मानित गर्नुको कारण भने बालविवाहलाई न्यूनीकरण गर्नु भएको वडा कार्यालयले जनाएको छ। दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको हो।

वडाध्यक्ष बोहराले भने, 'यो कार्यक्रम सुरू भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौँ।'

वडाको यस अभियानलाई सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन्। छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको अध्यक्ष बोहराले बताए।

फागुन २७, २०८० आइतबार ०७:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।