हलबाट ‘काँडेतार’ उतार्दै नवलले भने- ‘विदेशी फिल्मलाई १८५ शो दिँदा हाम्रो फिल्मलाई २३ मात्र?’

हलबाट ‘काँडेतार’ उतार्दै नवलले भने- ‘विदेशी फिल्मलाई १८५ शो दिँदा हाम्रो फिल्मलाई २३ मात्र?’

काठमाडौं : शुक्रबारबाट हलमा लागेको फिल्म ‘काँडेतार’ लाई निर्माण टिमले हलबाट उतार्ने निर्णय गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै हलवालाले देशभक्तिपूर्ण फिल्मलाई पायक शो नदिएको आरोप लगाउँदै आइतबारदेखि हलबाट उतार्ने जनाइएको छ।

गत वैशाख ११ गते सेन्सर पास गरेको र एक वर्षअघि नै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको स्मरण गराउँदै निर्माण टिमले फिल्म प्रदर्शनको समयमा असफल बनाउन चौतर्फी देशी-विदेशी खुफियाहरू र त्यसका मतियार खलबलाएको विज्ञप्तिमा उल्लेख छ।

फिल्ममा लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले जारी गरेको विज्ञप्तिमा भनिएका छ, ‘काँडेतारका विरुद्ध सुरुवाती चरणमा नै विवादित बनाउन प्रयास भयो। यसलाई सेन्सर बोर्डले काँटछाँट गर्न लगायो। त्यसपछि विभिन्न चरणमा यसका निर्माता र कलाकारहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष धम्की आउन थाल्यो। प्रचार यसरी हुन थाल्यो की यो चलचित्र कुनै अमुक मुलुक विरोधी हो। यसकारण केही मधेश र हिमालका अति विवादित व्यक्तिहरूले यस चलचित्रलाई प्रतिबन्ध गर्न या नत्र सिनेमा हलमा आगो लगाउने सम्मका वक्तव्यबाजी गरे।’

उनले फिल्मको अन्तिम चरणमा चलचित्रका केही हल मालिकहरू पनि आफ्नो फिल्म ‘काँडेतार’ माथि परोक्ष बाधक बन्न पुगेको र प्रदर्शनसम्बन्धी आम प्रचलनलाई मिच्दै फिल्मलाई पर्याप्त शो नदिएको उल्लेख गरेका छन्।

‘स्मरण रहोस् कि विदेशी हिन्दी फिल्मलाई करिब ११५ वटा शो हल उपलब्ध गराइएको छ। अङ्ग्रेजी फिल्मलाई करिब ७० वटा शो हल उपलब्ध गराइएको छ। चलचित्र शोमा प्राइम टाइम अति महत्वपूर्ण मानिन्छ। यही समयमा दर्शकहरू चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलब्ध गराइएन,’ विज्ञप्तिमा भनिएको छ।

निर्माता संघका अध्यक्ष समेत रहेका नवलले आफ्नो फिल्मसँग जुधाउन केही फिल्महरू रातारात सेन्सर गरेर ल्याइएको आरोप लगाएका छन्।

उनले अन्य फिल्ममा नाम उल्लेख नगरी दुई अन्य फिल्मलाई प्रत्येक करिब ८०/९० वटा शोहरू प्राईमटाईममा दिएको छ र आफ्नो आफ्नो देशभक्ति फिल्म ‘काँडेतार’ लाई मुस्किलले करिब २३ वटा शो दिइएको त्यो पनि अधिकांश शो बिहान ८, ९ र १० बजेको भन्दै गुनासो पोखेका छन्।

फिल्म निर्माणबाट आफूहरूले अपमान र लाञ्छना भोग्दै आएको स्मरण गर्दै उनले देशभक्ति फिल्ममाथि किन यति धेरै विभेद? हामीले देशभक्ति चलचित्र बनाउनु के अपराध गरेकै हौँ? के देशभक्ति कथामा बनेको चलचित्र चलचित्र नै होइन? भन्दै सरोकारवालालाई प्रश्न गरेका छन्।

शनिबार बिहान चलचित्र विकास बोर्डका प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले फेसबुकमा एक विज्ञप्ति जारी गर्दै यसरी विभेद नगर्न हलवालालाई आग्रह गरेका थिए।

फागुन २६, २०८० शनिबार १९:२६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।