‘रविले गृहमन्त्री भएर आफ्ना मुद्दाहरू राफसाफ गर्न चाहेका छन्, प्रचण्ड ओलीभन्दा गलत मान्छे रहेछन्’

‘रविले गृहमन्त्री भएर आफ्ना मुद्दाहरू राफसाफ गर्न चाहेका छन्, प्रचण्ड ओलीभन्दा गलत मान्छे रहेछन्’

काठमाडौँ : एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले-माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन्।

शनिबार रिपोर्टस् क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिन आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको हप्ता दिनभित्र मुलुकको राजनीतिक कोर्स नयाँ ढंगबाट अगाडि बढ्ने बताए।

उनले भने, ‘यो सरकार बेठीक नियतको साथ बनेको छ। यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ। बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ। यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन।’

उनले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोप लगाए। प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ।

प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए।

‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ। उहाँकै कारणले, उहाँबाहेक अरू कोही होइन। म हिजोका दिनमा केपी कमरेडप्रति एक खाल्को आलोचन गर्थेँ तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे। आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरूलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ। उहाँको नियतमै खोट छ। यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’ नेता चौधरीले भने।

प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरूलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरू राफसाफ गर्ने मनसाय राखेको उनको दाबी छ।

‘उहाँको आफ्नो मनसाय छ। गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरू राफसाफ गर्ने चाहना छ। तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन। प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,’ उनले भने।

केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसेको उनको भनाइ छ।

फागुन २६, २०८० शनिबार १६:५९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।