गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौं : सत्ता गठबन्धन परिवर्तनपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान पदाधिकारीबीच यसबारेमा छलफल भएको हो।

करिब दुई घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरूसँग परामर्श गरेर उम्मेदवार टुंगो लगाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग परामर्श गरेपछि मात्र को उम्मेदवार हुने भन्ने बिषय टुंगो लगाउने भनेर छलफलको बाटो खुला गरेको छ।

राष्ट्रिय सभाको बैठक भोलि फागुन २७ गते आइतबार १ बजे बस्दैछ । २९ गते अध्यक्षको निर्वाचन हुनेगरी यसअघि नै कार्यक्रम सार्वजनिक भैसकेको छ।

यसअघिको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नो उम्मेदवार जित्ने अवस्था रहँदा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला उम्मेदवार बन्ने करिब निश्चित जस्तै मानिएको थियो।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले अचानक गठबन्धन परिवर्तन गरेपछि पुरानो तयारी भङ्ग भएको थियो।

पूर्व महामन्त्री सिटौलालाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने सहमतिमा पुगेका प्रधानमन्त्री दाहाल र सभापति शेर बहादुर देउवाले वचन दिएपछि सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य चुनिएर काठमाडौं फर्किएका थिए।

शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सिटौलाप्रति सहानुभूति पनि प्रकट गर्दै आएका थिए।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ।

फागुन २६, २०८० शनिबार १२:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।