इनरुवामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै काका भतिजा हुन्।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १-०२-०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
फागुन २६, २०८० शनिबार १०:४०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।