गाजामा मानवीय सहायता पुर्याउन समुन्द्री करिडोर सञ्चालन गर्दै युरोपेली आयोग

एजेन्सी : युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेनले गाजामा राहत कार्यलाई बढावा दिन यसै हप्ताो अन्त्यसम्म समुद्री करिडोर खोल्नसक्ने बताएकी छन्।
उनको बयान अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको तटमा फ्लटिङ पियर निर्माण गर्ने योजना बनाएको घोषणा गरेको एक दिनपछि आएको हो।
यद्यपि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार यो निर्माण हुन ६० दिन लाग्न सक्ने बताएको छ। संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार गाजाको एक चौथाइ जनसंख्या भोकमरीको कगारमा छ र त्यहाँका बालबालिका भोकले मरिरहेका छन्।
गाजा पट्टीमा मद्दत प्राप्त गर्न गाह्रो र खतरनाक साबित भइरहेको छ। शुक्रबारको रिपोर्टमा हवाइबाट खसालेको सहायताका कारण पाँच जनाको मृत्यु भएको बताइएको छ।
स्थिति लगातार बिग्रँदै गएपछि अमेरिकालगायत अन्य देशले हवाई मार्गबाट राहत दिइरहेका छन्। तर, यो रणनीति अन्तिम उपाय भएको भन्दै बढ्दो आवश्यकता पूरा गर्न नसक्ने राहत संगठनहरूको भनाइ छ।
साइप्रसमा उर्सुला भोन डेर लेनले गाजाले ‘मानवीय विपत्तिको सामना गरिरहेको’ भन्दै समुद्री कोरिडोर मार्फत ठूलो मात्रामा थप मद्दत प्रदान गर्न सकिने बताइन्।
युरोपेली आयोग, साइप्रस, अमेरिका, बेलायत र युएईको संयुक्त विज्ञप्तिमा समुद्री कोरिडोर सञ्चालन गर्न ‘जटिल’ हुने उल्लेख छ। उनीहरूले इजरायललाई सडकबाट राहत कार्यहरू विस्तार गर्न, थप मार्गहरू सहज बनाउन र थप क्रसिंगहरू खोल्न दबाब दिनेसमेत उल्लेख छ।
बेलायती विदेश सचिव डेभिड क्यामरुनले भने, ‘हामी इजरायललाई गाजामा थप ट्रकहरू पठाउन अनुमति दिन आग्रह गर्दैछौँ, ताकि सहायता आवश्यक परेकाहरूलाई छिटो पुग्न सकोस्।’
फागुन २६, २०८० शनिबार ०८:००:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।