माओवादी केन्द्रकी उपाध्यक्षले भनिन्' बहुमत पुर्याउन गठबन्धनमा विवादित व्यक्ति समेत परे'

माओवादी केन्द्रकी उपाध्यक्षले भनिन्' बहुमत पुर्याउन गठबन्धनमा विवादित व्यक्ति समेत परे'

काठमाडौँ : सत्ता गठबन्धन दलको नेतृत्वकर्ता दल माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बहुमत पुर्याउन वर्तमान गठबन्धनमा विवादित व्यक्ति समेत परेको टिप्पणी गरेकी छिन्।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले १ सय १४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताइन्।

सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउन विवादित मान्छेसँग पनि गठबन्धन गर्नुपरेको उनको तर्क थियो। उनले गठबन्धनमा रहेकोमध्ये कुन विवादित भन्ने भने खुलाइनन्।

वर्तमान सरकारको गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको दायरामा रहेका नेता हुन्। उनी गृहमन्त्री बनेका छन्।

 उनले गठबन्धन बदलुनिको कारण बताउँदै भनिन्' आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔं भन्दा अर्थ सम्हालेको मन्त्रीले मान्दैन। मन्त्री फेरौं भन्दा नेताले मान्दैन। त्यसैले नयाँ गठबन्धन बन्यो। त्यो पनि शुद्ध त छैन। केही मान्छे त विवादित छन् नि!'

उनले कसैले गल्ती गरेमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार बनेको तर्क समेत गरिन्।

उनले विवादित मान्छेमा कुनै कमजोरी देखिए छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको तर्क समेत गरेकी थिइन्।

सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनी राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरङ्गित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरूले बनाएका दाबी गरिन्।

'गठबन्धनलाई कसैले उताको बनायो कि यता बन्यो कि भन्ने केही अन्तर्राष्ट्रिय तरङ्ग पनि ल्याएको छ,' उनले भनिन्' तर यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो। यो नयाँ सरकार होइन। पुनर्गठन हो।'

उनले गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने तर्क गरिन्। दीर्घकालसम्म देशमा दुई वटा कम्युनिस्ट पार्टीहरू समानान्तर ढङ्गले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्नेमा उनको जोड थियो।

फागुन २५, २०८० शुक्रबार १९:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।