मोरङले जित्यो इक्वालिटी कप महिला क्रिकेटको उपाधि
काठमाडौं : नेपाल क्रिकेट फाउन्डेसन र मोरङ क्रिकेट संघको आयोजनामा भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ।
विराटनगर-६ स्थित मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबारको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो।
टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभर ३ विकेट गुमाएर १ सय ५३ रनको योगफल बनाएको थियो।
मोरङकी सानु राजवंशीले ५९ बलमा ९ चौका प्रहार गर्दै ७२ रन बनाउँदा प्रेरणा राना मगरले नटआउट ३१ रनको योगदान दिइन्। इलामकी पस्मिता मुखियाले २ विकेट लिँदा संगिता तामाङले १ विकेट लिइन्।
१ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इलामले निर्धारित ओभरमा ५ विकेट गुमाएर जम्मा ५३ रनमा समेटियो।
इलामकी यमुना राईले सर्वाधिक नटआउट १० रन बनाउँदा उनीपछि ब्याटिङ गर्न आएकाले दोहोरो अंक बनाउन सकेनन्। मोरङकी चाँदनी यादवले ३ तथा कृतिसा धामीले १ विकेट लिइन्।
प्रतियोगिताको प्लेयर अफ द सिरिज मोरङकी सानु राजवंशी घोषित भइन् भने उत्कृष्ट ब्याटर इलामकी प्रियंका राई, उत्कृष्ट बलर मोरङकी सुवेक्षा लिम्बु र उदीयमान खेलाडी सिरहाकी आरुषी साह घोषित भए।
फागुन २२ गतेदेखि शुरू भएको प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहाका खेलाडी सहभागी रहेको खेल संयोजक विशाल साहले जानकारी दिए।
फागुन २५, २०८० शुक्रबार १९:२५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।