एमालेले वैशाख १० गते विशेष समारोह गर्ने

एमालेले वैशाख १० गते विशेष समारोह गर्ने

काठमाडौं : एमालेले आगामी वैशाख १० गते विशेष समारोह गर्ने भएको छ।

पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको २९औं बैठकले पार्टी स्थापना ७५औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष समारोह गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

‘वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने र १० गते पार्टी स्थापना दिवसको विशेष समारोह गर्ने आयोजना गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘त्यसकै तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्यौं।’

त्यसैगरी सत्ता समीकरणका आएको परिवर्तनको सन्दर्भमा छलफल भएको तथा जनतामा आशा र विश्वास दिलाउनका लागि एमालेले सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको सचिव पोखरेलले बताए।

उनले भने, ‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने र विकास र समृद्धिका कामलाई तीव्र्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी भएको पार्टीको मान्यता छ।’

स्वाधिनता र राष्ट्रिय हितका लागि तथा विकास निर्माणका कामलाई तीव्रता दिनका लागि सहकार्य गरेर गएको सन्दर्भमा अन्य राजनीतिक दललाई पनि सँगै मिलेर अघि जान आग्रह गर्ने निर्णय समेत भएको उनले बताए।

फागुन २५, २०८० शुक्रबार ११:१५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।