मह जोडी एक वर्षको लागि नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त

मह जोडी एक वर्षको लागि नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त

काठमाडौं : नेपाल टेलिकमले महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ।

टेलिकमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको बताउँदै ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए।

यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यसअघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको छ।

फागुन २५, २०८० शुक्रबार ०८:३५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।