महाशिवरात्री पर्व : यस्तो छ पशुपति क्षेत्रको सवारी व्यवस्थापन योजना

महाशिवरात्री पर्व : यस्तो छ पशुपति क्षेत्रको सवारी व्यवस्थापन योजना

काठमाडौं : महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुँइचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ।

प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गर्ने व्यवस्था गरेको हो।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई आग्रह गरे।

प्रहरीले सिफलचौरमा दर्शनार्थीहरूका लागि पार्किङको व्यवस्था गरेको छ।

त्यस्तै, कोषको कार्यालयमा सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। गुहेश्वरी पारी पनि तिर्थयात्री र दर्शानार्थीहरूले पार्किङ गर्न पाउनेछन्।

फागुन २५, २०८० शुक्रबार ०७:३१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।