‘दलित समुदायको औषत आयु कम हुन्छ, ५८ वर्षमा सामाजिक सुरक्षा भत्ता दिइनुपर्छ’

‘दलित समुदायको औषत आयु कम हुन्छ, ५८ वर्षमा सामाजिक सुरक्षा भत्ता दिइनुपर्छ’

काठमाडौं : माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले राज्यका तीन वटै तहमा संरचना निर्माण गर्नेगरी दलित विकास प्राधिकरणको गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद बरालीले अहिले निष्क्रिय रहेको दलित विकास समितिलाई संघीय, प्रदेश र स्थानीय तहमा पनि संरचना निर्माण हुनेगरी प्राधिकरण गठन गर्न संघीय संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद बरालीले भने, ‘अहिले दलित समुदायको समग्र विकासका लागि छुट्टै मन्त्रालय नभएको हुनाले हाल निष्क्रिय रहेको दलित विकास समितिलाई संघीय संरचनामा आधारित केन्द्र, प्रदेश र स्थानीय तहमा संरचना निर्माण हुनेगरी दलित विकास प्राधिकरणको व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

सांसद बरालीले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा दलितलाई समानुपातिक आधारमा बजेट विनियोजित गर्न पनि माग गरेका छन्।

उनले दलित समुदायको औषत आयु कम हुने भएकाले कर्मचारी निवृतिभरणलाई मध्येनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्तिको उमेर हद ५८ वर्ष कायम गर्न पनि संघीय संसदमार्फत सरकारको ध्यानाकर्षण गराए।

फागुन २४, २०८० बिहीबार २१:४९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।