हल पस्नुअघि निन्याउरो देखिएका बेनिशा र पूजा, फिल्म हेरिसकेपछि फुरुक्कै !

हल पस्नुअघि निन्याउरो देखिएका बेनिशा र पूजा, फिल्म हेरिसकेपछि फुरुक्कै !

काठमाडौं : नेपाली कलाकारहरू आफ्नो प्रशंसा आफैं गर्नुपर्यो भने पनि थाक्दैनन्। अझ अरूले राम्रो भनिदियो भने त उनीहरूलाई फुरुङ्ग नै भइहाल्छन्।

त्यस्तै भयो, भोलिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को प्रिमियरमा।

बिहीबार काठमाडौंको सिटी सेन्टरको बिग मुभिजमा भएको फिल्म ‘उपहार’को प्रिमियरमा अभिनेत्री पूजा शर्मा र बेनिशा हमाल निकै फुरुङ्ग देखिन्थे। फिल्मका कलाकारको परिचयात्मक कार्यक्रममा उत्साहित नदेखिएकी पूजाको फिल्म हेरिसकेपछि हाउभाउ नै बेग्लै देखियो।

फिल्मको पोस्टर रिलिजमा फोटो सानो राखिएको भन्दै निर्माण टिमसँग कच-कच गरेकी पूजाले प्रिमियरमा वर्षकै उत्कृष्ट फिल्म घोषणा गर्न भ्याइन्। हलमा पस्नुअघि चमक हराएको अनुहार, फिल्म हेरिसकेपछि वर्षकै उत्कृष्ट फिल्म भन्दै क्यामेराका अगाडि बोल्न भ्याइन्।

‘हामी दुईजना (पूजा र बेनिशा) त्यतिबेला सुटिङ गर्दा पनि हाँसेका थियौँ। तर पर्दामा के होला भन्ने थियो,’ उनले सुटिङको अनुभव सुनाउँदै भनिन्, ‘तर हामी दुई जनाको यति राम्रो छ नि, आइ लभ इट।’

यता बेनिशा फिल्ममा वकिलको भुमिकामा छिन्।

यो फिल्म उनले वेवास्ता गरेको फिल्म भन्दा पनि खासै फरक नपर्ला। किनभने उनले अघिल्ला फिल्ममा जस्तो यस फिल्ममा प्रचारप्रसार गरेकी थिइनन्।

हिन्दी फिल्म ‘दुर्गम’को सुटिङका लागि भारतमा हुँदा रिलिज हुन लागेको फिल्म ‘उपहार’ भन्दा उतैको प्रचारप्रसार बढी गरेकी थिइन्। तर बिहीबार फिल्मको प्रिमियरमा उपस्थित भएकी बेनिशा दंग देखिन्थिन्।

उनले फिल्ममा दर्शकले हरेक पार्ट याद गर्ने खाल्को रहेको भन्दै आफ्नै प्रशंसामा समय खर्चिइन्। जे होस हल छिर्दा निराश देखिएका पूजा र बेनिशा हल बाहिर दंग देखिए।

फागुन २४, २०८० बिहीबार २१:२६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।