विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनको लागि कुखुराका चल्ला

विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनको लागि कुखुराका चल्ला

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिका- ३ स्थित धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरूप कुखुराको चल्ला प्रदान गरेको छ।

बालबालिकालाई उद्यमशीलता सिकाउने उद्देश्यसहित ‘इन्क्युबेसन सेन्टर’ कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी १० वटाको दरले चल्ला प्रदान गरिएको संस्थाले जनाएको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई व्यावहारिक रुपमा उद्यमशीलताको अवधारणा विकास गराउन इन्क्युबेसन सेन्टर स्थापना गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए।

‘चल्ला पाएका बालबालिकाले संरक्षण गरेर बढाउँदै लैजाने छन्, यसले बालबालिकालाई सानैदेखि उद्यमशील बन्न सिकाउँछ,’ उनले भने, ‘बालबालिकाले कुखुराको रेखदेख गरे गरेनन् भने स्कुलका शिक्षक र लघुवित्तका कर्मचारीले अनुगमन गर्छन्।’

विद्यालय उमेरमा नै स्वरोजगार बालबालिकाले अध्ययनपछि अरूलाई पनि उद्यमशीलता सिकाउने उनको भनाई छ।

‘यो बालबालिकाले पेवाको रुपमा पालेको जस्तै हो, अहिले नै आम्दानी गर्न सिके भने पछि सहज रुपमा उद्यमशील बन्छन्,’ उनले भने।

पढ्दै कमाउन सिकाउने योजनासहित अभियान सञ्चालन गरिरहेको लघुवित्तको तालिम विभाग प्रमुख रन्जना निरौलाले बताइन् ।

फागुन २४, २०८० बिहीबार २०:२६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।