प्रचण्डलाई एकीकृत समाजवादीको अनुरोध- ‘दुनियाँ हाँसेको हाँस्यै छ, अब छोडेर नजानु होला’

प्रचण्डलाई एकीकृत समाजवादीको अनुरोध- ‘दुनियाँ हाँसेको हाँस्यै छ, अब छोडेर नजानु होला’

काठमाडौं : एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले आफूहरूलाई थाहै नदिई गठबन्धन तोडेको भन्दै अबदेखि धोका नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले सधैँ प्रचण्डको बखान गरेर सरकार टिकाउन ‘मरिहत्ते गरेर बसेको’ बताए।

‘अब हामीलाई छोडेर नजानु होला। हामी साथमा छौँ, कति बेला छुट्छौँ थाहा नै पाउँदैनौँ,’ उनले भने, ‘हाम्रो अध्यक्ष माधव नेपालजस्तो असल, इमानदार मान्छेलाई थाहै नपाईकन गठबन्धन तोडियो। उहाँले सधैँ प्रचण्डको बखान गर्नुभएको छ। सुतिरहेको बेला छुटेको थाहा हुँदैन। कस्तो गजब छ।’

अहिलेको गठबन्धनमा रहेका दलले कति साथ दिन्छन् थाहा नभएको तर, आफूहरूले प्रधानमन्त्रीलाई सधैँ साथ दिने उनको भनाइ छ।

‘हामी तपाईंलाई प्रधानमन्त्री बन्न आवश्यक बन्ने अंक पुर्याइराख्छौँ। तर, याद गर्नुहोला- जसको जगमा तपाईं प्रम बन्नुभयो, सरकार बनेको छ, ती राजनीतिक दलहरूलाई सँगै राख्नुहोला। तपाईंले ती राजनीतिक दललाई छोडेर नजानु होला। अब चाहिँ यसो नगर्नु होला। बर्बाद भइसकेको छ, दुनियाँ हाँसेको हाँस्यै छ’, उनले भने।

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बल दिएको भन्दै उनले भने, ‘एमालेजस्तो लार्जेस्ट पाटीको साथ पाउनुभएको छ। रास्वपा छ, आवश्यक पर्ने दम पावर पाउनुभएको छ। मलाइ लाग्छ, राम्रै हुन्छ।’

उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै प्यास लागेको मान्छे घैँटो लिएर कुवा गएको (माधव नेपाललाई भेट्न) तर, केही दिन अघिदेखि कुवा आफैँ भाग्दै हिँडेको टिप्पणी गरेका छन्।

फागुन २४, २०८० बिहीबार १६:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।