शिवरात्रिकालागि पशुपतिमा विशेष तयारी, संस्कृत मन्त्रीको संयोजकत्वमा मूल समिति

शिवरात्रिकालागि पशुपतिमा विशेष तयारी, संस्कृत मन्त्रीको संयोजकत्वमा मूल समिति

काठमाडौँ : शिवरात्रि पर्वलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष तयारी गरिएको छ। कोषका अनुसार कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति गठन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सोमबार पुनर्गठित मन्त्रिमण्डलमा संस्कृति मन्त्रालयको नेतृत्व माओवादी नेता हितबहादुर तामाङले पाएका छन्।

पशुपति क्षेत्रमा बुधवार पत्रकार सम्मेलन गर्दै कोषका प्रचार तथा आवास, खाद्य तथा भौतिक पूर्वाधार उपसमिति संयोजक परिषद् सदस्य बाबुशरण सुवेदीले शिवरात्रि पर्वमा हुने पूजा अर्चना र श्रद्धालुको भीड व्यवस्थापनका लागि विशेष तयारी गरिएको बताए।

कोषका अनुसार मूल समितिअन्तर्गत ८ वटा विभिन्न विषयगत उपसमितिहरू गठन गरिएका छन्। उपसमितिहरुमार्फत संयोजन र समन्वय गरी शिवरात्रिको तयारी लगभग अन्तिम अवस्थामा पुगेको उनले जानकारी दिए। यस पटक शिवरात्रि पर्व आगामी शुक्रवार परेको छ।

सुरक्षा व्यवस्था उपसमिति, स्वयंसेवक परिचालन व्यवस्था उपसमिति, मन्दिर दर्शन, चन्दन वितरण र रात्रि व्यवस्था उपसमिति, प्रचार तथा आवास, खाद्य तथा भौतिक पूर्वाधार उपसमिति, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, वातावरण, व्यङ्ग्य र जुत्ता चप्पल व्यवस्था उपसमिति, स्वास्थ्य सेवा प्रणाली उपसमिति र मेला बजार तथा सजावट व्यवस्था उपसमिति गरी ८ वटा उपसमिति रहेको कोषले जनाएको छ।

शिवरात्रिका दिन पशुपतिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी एवं भक्तजनहरूको भीडलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेका सुरक्षा एवं स्वास्थ्यका समेत मापदण्डलाई पालना गर्दै दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन कोषले तयारी गरेको उनले बताए।

पशुपति क्षेत्रभित्र मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा–भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थहरूको बिक्री वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न कोषले अनुरोध गरेको छ।

ज्येष्ठ नागरिक, फरक शारीरिक अवस्था भएका व्यक्तिहरूका लागि छुट्टै दर्शन लाइनको व्यवस्था गरिएको छैन। उनीहरूले स्वयंसेवक र सुरक्षाकर्मीको सहयोग लिई सिधै दर्शन गर्न पाउने छन्।  

फागुन २३, २०८० बुधबार १८:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।