नयाँ गठबन्धनले टुङ्ग्यायो १७ मन्त्री, स्वास्थ्यसहित सात मन्त्रीको खोजी जारी

नयाँ गठबन्धनले टुङ्ग्यायो १७ मन्त्री, स्वास्थ्यसहित सात मन्त्रीको खोजी जारी

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीको कार्य विभाजन गरेका छन्। उनले आजै शपथ गराउने गरी तीन पार्टीको तर्फबाट बन्ने १७ मन्त्रीको कार्य विभाजन तोकेका हुन्। बुधवार शपथ लिनेहरूमा एकीकृत समाजवादी, जनता समाजवादीका मन्त्रीहरूको नाम छैन।

एमालेले पाएको आठ मन्त्रालयमध्ये रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधारसहित सरकारमा सहभागी हुनेछन्। गृह मन्त्रीको रूपमा विनाविभागिय मन्त्रीको शपथ लिएका पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री भएका छन्। गृह राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ।

एमालेका अन्य मन्त्रीहरूमा रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी,खानेपानीमा राजेन्द्र राई, उद्योगमा दामोदर भण्डारी, कृषिमा ज्वालाकुमारी साह र भूमि व्यवस्थामा बलराम अधिकारी तोकिएका छन्।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दैछन्। अर्थमा वर्षमान पुन, ऊर्जामा शक्ति बस्नेत, सञ्चारमा रेखा शर्मा र विना विभागीय शपथ लिएका हितबहादुर तामाङको भागमा पर्यटन मन्त्रालय परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ खाँदैछन्। श्रममा डिपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठको चयन भएको छ।

एकीकृत समाजवादीले समेत दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरिसकेको छ। सङ्घीय मामिला र सामान्य प्रशासन पाएको भनिए पनि मन्त्रीको नाम भने तय भएको छैन। जनता समाजवादी पार्टीमा सरकारमा सहभागिताबारे नै विवाद हुँदा मन्त्रालयको सङ्ख्या र मन्त्रीको नाम टुङ्गिएन। संविधान अनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन हुनसक्छ।

फागुन २३, २०८० बुधबार १६:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।