२८ देशमा टेलिकमको सस्तो दरको डाटा रोमिङ सुविधा
काठमाडौँ : नेपाल टेलिकमले सस्तो दरमा २८ देशमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको छ। बुधवार जारी विज्ञप्तिमा कम्पनीले रोमिङ पार्टनरसँग गरेको सम्झौताअनुसार पहिलेभन्दा सस्तो दरमा डाटा रोमिङ सेवा सञ्चालन गरिएको बताएको हो।
विदेशमा भएका टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको कम्पनीले जनाएको छ। सम्झौताअनुसार नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आबद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा पाउनेछन्।
टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बङ्गलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रिस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ।
मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, श्रीलङ्का, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने उसले जानकारी दिएको छ।
डाटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्ने छ। पोस्टपेड तथा प्रिपेड ग्राहकहरूले प्रिपेड ग्राहकहरूले नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिनेछ।
फागुन २३, २०८० बुधबार १५:५०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।