एकीकृत समाजवादी सरकारमा, मधेस केन्द्रित तीन दलका अध्यक्षसँग छलफल गर्दै देउवा

एकीकृत समाजवादी सरकारमा, मधेस केन्द्रित तीन दलका अध्यक्षसँग छलफल गर्दै देउवा

काठमाडौँ : एकीकृत समाजवादी समेत नयाँ गठबन्धनमा सहभागी भएर सरकारमा सहभागी हुने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित तीन दलका अध्यक्षहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नयाँ गठबन्धनमा सहभागी भए पनि सरकारमा सहभागिताबारे पार्टी बैठकबाट निर्णय हुन सकेको छैन। मन्त्रालय समेत टुङ्गिएको छैन। बुधवार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटेर सरकारमा जान हतार नगर्न र नयाँ समीकरणमा साथ दिन आग्रह गरेका थिए।

लगत्तै बसेको एकीकृत समाजवादीको बैठकले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णय गर्यो। यस अगाडि सरकारमा सहभागी भएको जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा छैनन्।

गठबन्धनका लागि जनमतले मधेसको मुख्यमन्त्री मागेको थियो भने नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री मागेको थियो। लोसपाबाट कुनै माग सार्वजनिक भएको छैन।

चार बजे देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई आफ्नै निजी निवास बालुवाटारमा डाँकेका छन्। जनमतसँग प्रतिनिधि सभामा ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको तीन सिट छ। १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि गठबन्धनमा छैन। 

फागुन २३, २०८० बुधबार १५:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।