‘काँडेतार’को प्रिमियरमा पुगेका झलनाथले भने, ‘के गर्नु, मलाई प्रधानमन्त्रीको कुर्सीमा टिक्नै दिएनन्’

‘काँडेतार’को प्रिमियरमा पुगेका झलनाथले भने, ‘के गर्नु, मलाई प्रधानमन्त्रीको कुर्सीमा टिक्नै दिएनन्’

काठमाडौं : फिल्मका निर्माण टिमले फिल्मको प्रिमियरमा अभिनेतादेखि नेतासम्मलाई बोलाउन थाल्नु अब नौलो रहेन।

मंगलबार फिल्म ‘काँडेतार’को प्रिमियरमा पनि कलाकारभन्दा बढी नेताहरूलाई निम्तो थियो। दुई/तीन दिनदेखि अधिकांश राजनीतिक दलका नेता र फिल्मकर्मीको उपस्थिति हुने भन्दै युट्युबरहरूलाई जानकारी गराइएको थियो।

प्रिमियरमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वमन्त्री रेखा शर्मा तथा नेताहरू राजेन्द्र लिङ्देन, सिपी मैनाली, गोपाल किराती, राधाकृष्ण मैनाली, ज्ञानेन्द्र शाहीसम्मलाई निमन्त्रणा गरिएको थियो।

दुई दिनदेखि चलेको राजनीतिक सरगर्मीका कारण अधिकांश नेताहरू ‘काँडेतार’को प्रिमियरमा उपस्थित हुन सकेनन्। तर, पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने प्रिसियरमा उपस्थित भए। उनले फिल्म मनपरेको भन्दै आफूले सिमानामा काँडेतार लगाउनुपर्छ भन्दा प्रधानमन्त्री पद नै गएको उल्लेख गरे।

उनले भने, ‘मैले सिमानामा काँडेतार लाउँछ भनेर प्रधानमन्त्रीको कुर्सीमा टिक्नै दिएनन्। अनि के गर्ने?’

यसका साथै नीर शाह, राजेशपायल राई लगायतका कलाकारहरूलाई पनि निम्तो पाए पनि उपस्थित भएनन्। प्रिमियरमा उपस्थित अधिवक्ता स्वागत नेपाल, गायिका अन्जु पन्तले फिल्म राम्रो भएको रेडिमेड जवाफ दिएर निस्किए।

निम्तो गरिएका नेता तथा कलाकार उपस्थित नभएपछि फिल्मका निर्माता, निर्देशक तथा अभिनेता समेत रहेका नवल खड्काले चित्त दुखाएका थिए।

गायिका सत्यकला राईले निर्माण गरेको फिल्ममा नवल खड्काका अलवा, रेविका गुरुङ, गौरब पहारी, सुरबिना कार्की, सञ्जय खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फागुन २३, २०८० बुधबार १२:०७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।