मन्त्री र मन्त्रालय बाँडफाँट टुङ्ग्याउन दलहरू आन्तरिक छलफलमा

मन्त्री र मन्त्रालय बाँडफाँट टुङ्ग्याउन दलहरू आन्तरिक छलफलमा

काठमाडौं : सत्ता गठबन्धन दलका नेताहरू गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउन आन्तरिक छलफलमा छन्।

पार्टीभित्र क-कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरूभित्र छलफल चलिरहेको छ। गठबन्धनमा अहिले माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन्।

प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार दलले एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित अन्य साना दलहरूलाई समेत गठबन्धनमा सामेल गराउने प्रयास गरिरहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराएर अघि बढ्न जोड दिएका छन्।

गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार साँझ दोश्रोपटक भेट गरे। बुधबार विहानै उनले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका छन्।

मंगलबार साँझको भेटमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई लिएर कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए। एकीकृत समाजवादीले बुधबार मध्यान्हसम्मको समय मागेको छ। नागरिक उन्मुक्ति पार्टीले पनि त्यतिञ्जेल समय माग गरेको नेताहरूले जनाएका छन्।

सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दैछ। सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँट कार्यदल पनि छलफलमै छ। मंगलबार कार्यदलमा केहीबेर छलफल भएपनि गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति भएको छैन।

‘सबैको चासो गृह र अर्थमा छ,’ कार्यदलका एक सदस्यले भने, ‘अझ मुख्यगरी गृह मन्त्रालयमा सबैको दाबी परेको छ।’

बुधबारसम्म गठबन्धनमा सामेल हुने दलहरूको टुंगो लाग्ने र त्यसपछि मन्त्रालय बाँडफाँटको टुंगो लगाउने तयारी छ।

‘को-को सरकारमा सहभागी हुने भन्ने टुङ्गिए लगत्तै मन्त्रालयको बाँडफाँटको टुङ्गो लाग्छ। सबैलाई मिलाएर लैजाने विषयमा प्रधानमन्त्रीज्यूले सकारात्मक पहल लिनुभएको छ, त्यसमा पनि वामपन्थी एकतामा उहाँको जोड छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘सरकारमा सहभागी हुने दलको टुङ्गो लागेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ।’

कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालको क्याबिनेटमा माओवादी, एमाले र रास्वपाबाट एक-एक जना विना विभागीय मन्त्रीहरू छन्।

फागुन २३, २०८० बुधबार ०९:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।