प्रचण्डमाथि कांग्रेस प्रवक्ताको आरोप' गठबन्धन कायम रहन्छ भनेर छल गरे, कपोलकल्पित बहाना देखाए

प्रचण्डमाथि कांग्रेस प्रवक्ताको आरोप' गठबन्धन कायम रहन्छ भनेर छल गरे, कपोलकल्पित बहाना देखाए

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कायम रहन्छ भनेर छल गरेको भन्दै अब पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले गठबन्धन बदल्न प्रचण्डले देखाएको कारण कपोलकल्पित रहेको दाबी गरेका थिए।

‘प्रधानमन्त्री प्रचण्डको गठबन्धन फेरबदल गर्ने निर्णयले थप अस्थिरता र अन्योललाई बढवा दिएको छ। अब हामी सशक्त प्रतिपक्षीको भूमिका खेल्छौँ। आम जनता र पार्टी पङ्क्तिलाई दृढताका साथ उभिने र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँछौँ।’

प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्नुको मुख्य कारण कांग्रेसका मन्त्रीहरूको कार्यसम्पादनलाई देखाएकोमा उनी असन्तुष्ट देखिए।

गठबन्धन बस्न सकिँदैन भनेर अगाडि सारेका बुँदाहरू कपोलकल्पित रहेको र त्यसको कुनै आधार नभएको भन्दै उनले भने' यो गठबन्धन जारी रहन्छ भन्दै भित्रभित्रै छल गर्नुभयो। त्यसको चाहिँ कारण होला। तर हामी कारण होइन। नेपाली कांग्रेस र हामी कोही पनि मन्त्री कुनै पनि आधारमा कारण होइन। यो बहाना मात्रै हो। कपोलकल्पित हो। यसमा कुनै सत्यता छैन।’

२२ फागुन, २०८०, २३:०९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।