रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको छैन : कांग्रेस

रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको छैन : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको स्पष्ट पारेको छ।

केही सञ्चार माध्यमहरूले रास्वपा सभापति लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको समाचार प्रकाशित गरिरहेको बेला कांग्रेसले यसलाई अफबाह भएको बताएको हो।

महामन्त्री विश्वप्रकाश शर्माले नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितका कार्य गर्न शुभकामना दिँदै कांग्रेस जिम्मेवार प्रतिपक्षीको तयारीमा रहेको बताए।

‘केही पत्रकार मित्र सोधिरहनु भएको छ- के काँग्रेसले 'फलाना' लाई प्रधानमन्त्री 'अफर' गरेको हो?’,  महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्पष्ट गरौं- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन।’

मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरिसकेको छ।

त्यस बैठकबाट बाहिरिने क्रममा पनि नेताहरूले सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताएका छन्।

फागुन २२, २०८० मंगलबार २१:३३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।