सरकारमा सहभागी हुन साना दल मनाउँदै प्रचण्ड, माधवपछि महन्थसँग छलफल, पाएनन् सकारात्मक जवाफ

सरकारमा सहभागी हुन साना दल मनाउँदै प्रचण्ड, माधवपछि महन्थसँग छलफल, पाएनन् सकारात्मक जवाफ

काठमाडौँ : नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दललाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन्। एमालेसहित चार दल मिल्दा बहुमत पुगे पनि कुनै एक दलले छाडे सरकार ढल्ने भएकाले उनी सुरक्षित बहुमत चाहन्छन्।

सुविधाजनक बहुमतको अभावमा गठबन्धनमा रहेका दलहरूको पेलाइ बढ्ने र सरकार समेत अस्थिर हुने भएकाले उनी सरकारको समर्थनमा सांसद सङ्ख्या बढाउने रणनीतिमा देखिन्छन्।

केन्द्रको सरकारसँगै प्रदेशमा समेत नयाँ गठबन्धन अनुसार सरकार बनाउने रणनीतिमा रहेका प्रचण्डका लागि कर्णाली बाहेक अन्य प्रदेशमा सरकार बनाउन चार दलको मात्र समर्थनले सम्भव छैन। त्यसैले पनि उनी केन्द्रको सरकारमा दलहरू बढाएर प्रदेशमा समेत गठबन्धनकै नेतृत्वमा सरकार बनाउन चाहन्छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सोमबारै सरकारमा सहभागी नहुने भनाई सार्वजनिक गरिसकेका छन्।

प्रचण्डले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेका छन्। जनमतले सरकारमा सहभागी हुने सर्तको रूपमा मधेस प्रदेशको मुख्यमन्त्री मागेको छ। नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री मागेको छ।

अहिले उनी एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयासमा छन्। सोमबार कांग्रेससहितको गठबन्धन छाडेर एकाएक एमालेसहित चार दलसँग मिलेर सरकार गठन गरेका प्रचण्डले सोमबारै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरिसकेका छन्।

कांग्रेससहितको गठबन्धनमा नेपाल वेटिङ प्रधानमन्त्री थिए। एमालेसहितको गठबन्धन छाडेर कांग्रेससहितको गठबन्धन बनाउँदा दुई वर्ष प्रचण्ड, एक वर्ष माधव नेपाल र दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो।

सहमति कायम रहेको भए सात महिनापछि नेपाल प्रधानमन्त्री बन्ने थिए। तर एकाएक प्रचण्डले गठबन्धन भत्काएपछि नेपाल प्रधानमन्त्री हुने बाटो बन्द भएको छ।

एकीकृत समाजवादी माओवादीसहितको समाजवादी मोर्चामा समेत छ। सोही आधारमा प्रचण्डले सोमबार नारायणकाजी श्रेष्ठलाई लिएर नेपाल भेट्न उनकै निवासमा गएका थिए।

प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरे पनि छलफल त्यति सौहार्दपूर्ण हुन सकेन। नेपालले सरकारमा सहभागी हुनेबारे प्रस्ट केही वचन दिएनन् प्रचण्डलाई। एकीकृत समाजवादीसँग प्रतिनिधि सभामा १० सिट छ भने प्रदेशहरूमा सरकार बनाउन गठबन्धनलाई एकीकृत समाजवादीको साथ चाहिन्छ।

एकीकृत समाजवादीको कोशीमा चार, मधेसमा सात, बागमतीमा सात, गण्डकीमा एक, कर्णाली एक र सुदूरपश्चिममा चार सिट छ। गठबन्धन र सरकारबारे छलफल गर्न उसले बुधवार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

प्रचण्डले मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेर सरकारमा आउन आग्रह गरेका थिए। प्रतिनिधि सभामा लोसपाको चार सांसद छन्।

सरकारको अङ्क गणित

सोमबार नयाँ गठबन्धनबारे सहमतीहुँदा चार दलका अध्यक्षले मात्र हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन भएको सहमतिमा प्रचण्डको प्रधानमन्त्रीकालको अवधि उल्लेख छैन। तर दुई वर्ष प्रचण्डले र बाँकी अवधि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने आन्तरिक सहमति भएको दाबीहरू सार्वजनिक भएका छन्।

सरकारको पक्षमा एमालेको ७७, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २१ र जनता समाजवादी पार्टीको १२ सिट गरी एक सय ४२ पुग्छ। एमाले बाहेक जसपा र रास्वपा जसले समर्थन फिर्ता लिए पनि सरकार ढल्ने जोखिम हुन्छ।

अन्य दलहरू सरकारमा सहभागी नभए प्रतिपक्षमा कांग्रेस ८८, राप्रपा १४, एकीकृत समाजवादी १०, जनमत ६, स्वतन्त्र पाँच, लोसपा ४, नागरिक उन्मुक्ति तीन, जनमोर्चा र नेमकिपा १-१ सिट गरी एक सय ३२ रहन्छ। इलाममा उपनिर्वाचन हुँदै छ।

 

 

 

२२ फागुन, २०८०, १७:१०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।