आफूमाथि धारिलो हतियार प्रहार भएपछि चिच्याइन् ज्ञानमति, दाजु घटनास्थल पुगेपछि प्राण त्यागिन्

आफूमाथि धारिलो हतियार प्रहार भएपछि चिच्याइन् ज्ञानमति, दाजु घटनास्थल पुगेपछि प्राण त्यागिन्

काठमाडौं : मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ। सोमबार राति पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीय ज्ञानमति थुलुङ राईको हत्या भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ती किशोरी मामाको छोराको घरमा बस्दै आएकी थिइन्। घर परिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ।

किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ। आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए। उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन्।

उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन्। किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन्।

प्रहरीले घटनामा संलग्नको खोजी र अनुसन्धान सुरू गरेको जानकारी दिएको छ।

फागुन २२, २०८० मंगलबार १५:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।