अन्तिम ओभरमा १२ रन हान्न नसक्दा बंगलादेश श्रीलंकासँग तीन रनले पराजित
काठमाडौं : बंगलादेशविरुद्धको तीन खेलको दिवसीय सिरिजको पहिलो खेलमा श्रीलंकाले तीन रनको रोमाञ्चक जित निकालेको छ।
श्रीलंकाले दिएको २०७ रनको लक्ष्य पछ्याएको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र २०३ रनमा समेटियो।
अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा दसुन शनाकाले पहिलो बलमै विकेट लिएर रिसद हुसेनलाई आउट गरे। दोस्रो बल वाइड फालेका उनले त्यसपछि बलमा एक रन दिए।
ओभरको तेस्रो बलमै उनले सेट ब्याट्सम्यान जाकीर अलीलाई पेभेलियन बाटो देखाए। त्यसपछि आएका शोरिफूल इस्लामले ओभरको चौथो बलमा चौका हिर्काए।
अब जितका लागि दुई बलमा छ रन आवश्यक थियो। ओभरको पाँचौं बलमा शोरिफूलले दौडेर एक रन लिए।
स्ट्राइकमा आएका बलर टक्सिन अहमदले अन्तिम बलमा कुनै पनि बाउन्ड्री प्रहार गर्न नसक्दा बंगलादेश तीन रनले स्तब्ध बन्यो।
उसका लागि जाकीर अली र मोहमदुल्लाहले क्रमशः ६८ र ५४ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक नाजमुल हुसेन सान्तो २०, म्हेदी हसन १६, सौम्य सरकार १२ रन बनाएर आउट भए।
श्रीलंकाका एन्जेले म्याथूज, बिनुरा फर्नान्डो र दसुन शनाकाले समान दुई-दुई विकेट लिँदा महीश थिशन्का र मथीसा पथिरानाले समान एक-एक विकेट लिए।
त्यसअघि सिलेटमा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २०६ रन जोड्यो।
उसका लागि सदीरा समनरविक्रमाले अविजित रहँलै ६१ रनको अर्धशतकीय पारी खेले। कुशल मेन्डिसले पनि ५९ रनको अर्धशतकीय पारी खेल्दा कामिन्दु मेन्डिस १९ र चरिथ असलंकाले अविजित ४४ रन जोडे।
बंगलादेशका शोरिफूल इस्लाम, टक्सिन अहमद र रिसाद हुसेनले समान एक-एक विकेट लिए।
बंगलादेश भ्रमणमा रहेको श्रीलंकाली टोलीले त्यहाँ तीन टी२०, तीन एकदिवसीय र दुई टेस्ट खेल्नेछ।
फागुन २२, २०८० मंगलबार ०७:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।