तस्बिर भाइरल भएपछि सडक डिभिजन कार्यालयले भन्यो- ‘युवा र विद्यार्थी विदेशिने मुख्य कारण यस्तै हर्कत हो’

तस्बिर भाइरल भएपछि सडक डिभिजन कार्यालयले भन्यो- ‘युवा र विद्यार्थी विदेशिने मुख्य कारण यस्तै हर्कत हो’

काठमाडौं : सडक विभाग परिसर हुँदै जाने सडकका तस्बिर सामाजिक राखेर सञ्जालमा अतिरञ्जित गरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागको बबरमहलस्थित कार्यालय अगाडिको सडक खाल्डो परेको र त्यहाँ पानी जमेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यालयले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सोमबार विज्ञप्ति जारी गर्दै वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो।

‘यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले मिति २०८० फागुन  १९ गते शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक छ’, विभागका सूचना अधिकारी इञ्जिनियर प्रमोद खतिवडाद्वारा जारी विज्ञप्तिमा छ।

विभागले सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायीले निर्धारित समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको जनाउँदै यस्तो तस्बिर सञ्चारमाध्यममा आउनु दुर्भाग्य भएको जनाएको हो।

‘सडक विभाग, सडक डिभिजन काठमाडौं मातहतका सडकहरू खाल्डारहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक सन्देश फैलाई देशमा केही राम्रो काम हुँदैन, सबैतिर यस्तै हो भन्ने खालका टिप्पणीले विद्यार्थीदेखि सबैमा नकारात्मक मनोभाव उत्पन्न भइ विदेशिने कारणमध्ये यस्तै हर्कत पनि मुख्य रूपमा आएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रतिक्रियाप्रति सजग रही वास्तविकता बुझेर प्रतिक्रिया दिन आग्रह गरेको छ।

फागुन २२, २०८० मंगलबार ०७:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।