राष्ट्रपति निर्वाचन लड्न ट्रम्पमाथि लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतद्वारा खारेज

राष्ट्रपति निर्वाचन लड्न ट्रम्पमाथि लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतद्वारा खारेज

एजेन्सी : अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ।

अमेरिकी संविधानको १४औं संशोधनलाई आधार बनाएर डिसेम्बरमा कोलोराडोको उच्च अदालतले ट्रम्पलाई सशस्त्र विद्रोह गर्नेहरूको संज्ञा दिँदै राष्ट्रपति निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो।

तर फेब्रुअरी ८ मा भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशहरूले यो कदमलाई शंकाको दृष्टिले हेरेका थिए। यससँगै उनीहरूलाई राज्यको अदालत आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको समेत ठहर गरेको छ।

अदालतले १४औं संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कांग्रेसको हातमा रहेको बताउँदै सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको हो।

अदालतको आदेशसँगै डोनाल्ड ट्रम्पले मंगलबार हुन लागेको अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन्। कोलोराडो सहित १५ अमेरिकी राज्यले मंगलबार प्राथमिक चरणको मतदान हुँदैछ। यसलाई सुपर ट्युजडे भनिएको छ।

७७ वर्षीय डोनाल्ड ट्रम्पले यस चुनावमा आफ्नी एक मात्र प्रतिद्वन्द्वी निक्की हेलीलाई हराएर रिपब्लिकन पार्टीको मनोनयन जित्ने विश्वास गरिएको छ। अमेरिकी राष्ट्रपति चुनावको प्राथमिक चरणमा दलहरूले मतदान मार्फत आफ्ना उम्मेदवारहरू निर्णय गर्छन्।

सर्वोच्च अदालतको आदेशलाई ट्रम्पले अमेरिकाको ठूलो जितको संज्ञा दिएका छन्।

फागुन २२, २०८० मंगलबार ०६:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।