टेक्निसियनले 'पहिला आफ्नो भोकललाई क्लिएर गर्नु अनि हाम्रो लेभलमा आउनु' भनेपछि जङ्गिइन् एलिना
काठमाडौं : पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच विवाद भएको छ।
आइतबार साँझ पर्फर्मेन्सका लागि स्टेज पुगेपछि साउण्ड बिग्रिएको भन्दै एलिनाले साउण्ड टेक्निसियनलाई मिलाउन आग्रह गरेपश्चात् वादविवाद चर्किएको हो। यतिबेला एलिना र टेक्निसियनबीचको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
टेक्निसियनले एलिनालाई 'पहिला आफ्नो भोकललाई क्लिएर गर्नु अनि हामीसँगको लेभलमा आउनु' भनेपछि एलिना रिसाएको देखिन्छ।
टेक्निसियनले आफ्नो लेभलमा आउन आग्रह गरेपछि एलिनाले पहिला बोल्ने ढंग सुधार्न आग्रह गरेकी छन्।
‘तपाईं आफ्नो गल्ती देख्नु हुन्न,’ उनले स्टेजमा देखाउँदै भन्छिन्, ‘यहाँ उभिएर हेर्नु त?’
तर टेक्निसियनले फेरि उही कुरा दोहोर्याउँछन्। भन्छन्, ‘पहिला आफ्नो भोकल क्लिएर गर्नु।’
एउटै कुरा सुनेपछि एलिना अझ आक्रोशित रुपमा आफूलाई नसिकाउन आग्रह गर्छिन्।
उनी भन्छिन्, ‘मलाई सिकाउन पर्दैन क्या बुझ्नु भो नि। नाच्न जान्दैन आँगन टेडो भनेको यही हो। मिलाउन आउँदैन अनि।’
टेक्निसियनका तर्फबाट आफूहरूले धेरै काम गरिसकेको भन्दै रोकिने कुरै गर्दैनन्। यता एलिना पनि रोकिने मुडमा देखिन्नन्।
उनी टेक्निसियनतर्फ जवाफ फर्काउँर्दै भन्छिन्, ‘लाज लाग्दैन यस्तो बोल्नलाई?’
दर्शकबाट आफ्नो गाउँको बेइज्जत गरेको भन्दै नारा लाग्न थालेपछि उद्घोषकले एलिना चौहानको अर्को प्रस्तुतितर्फ लाग्छौँ भनेर गीत गाउन लगाउँछन्।
टेक्निसियनसँग रिसाएकी एलिना त्यतिकै आफ्नो प्रस्तुतितर्फ लाग्छिन्।
एलिनाका अनुसार साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु भनेपछि वादविवाद चलेको हो। सुरुबाटै कार्यक्रममा साउन्ड सिस्टम राम्रो नबनाइ दिएको एलिनाको आरोप छ।
महोत्सवका सुरक्षा समिति संयोजक सोमबहादुर पुन मगरले प्राविधिक कारण विवाद भएको स्वीकारेका छन्।
उनले पानी परेका कारण साउन्ड सिस्टमा बिग्रेको र कलाकारलाई गाउन गाह्रो भएको आफ्नो स्पष्टीकरण समेत दिइसकेका छन्।
फागुन २१, २०८० सोमबार १८:५४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।