दीपक बज्राचार्यको 'ब्याण्ड'मा सात वर्ष बिताएका प्रदीपलालले संगीतमा भविष्य देखेनन् अनि लागे केबलकारतिर
२०५५ सालमा नेपालमै पहिलोपटक केबलकार संचालनमा आउँदै थियो। अगाडिदेखि नै विदेशी मेकानिकहरू संलग्न थिए। एकाएक नेपाली मेकानिकहरूको लागि आवेदन खुल्यो। पत्रिकामा आवेदन देख्ने बित्तिकै पढाइ सकेर बसेका प्रदिपलाल नकर्मीलाई जाउँ-जाउँ लाग्यो।
त्यसबेला दीपक बज्राचार्यको 'ब्याण्ड'को बोलवाला थियो। त्यही ब्यान्डमा थिए, प्रदिपलाल। गीत निकाले, चर्चा कमाए, केही पैसा पनि कमाए। तर, कमाएको पैसा सबै त्यसै सकियो।
उनले साथीहरूसँग कुरा गरे। साथीहरूले जान सल्लाह दिएपछि अन्तर्वार्ता दिन नक्साल पुगे। उमेर उरन्ठेउलो भए पनि केही दिगो काम गर्न चाहन्थे। पढेको कुरालाई व्यवहारमा ल्याउनु थियो। पैसाको चाहिँ त्यस्ती धेरै जरुरत थिएन तर साथीहरूसँग लामो समय गीत गाउँदै आएका उनले संगीतमा भविष्य नभएको ठानिसकेका थिए।
'सात वर्ष त ब्यान्डमै बिताएँ,' उनले भने, 'त्यसबेला मलाई पैसाको धेरै नचाहिए पनि काम चाहिएको थियो। भ्याकेन्सी खुलाएकाले केबलकार भनेको के होला भन्ने कौतुहल भयो। मेकानिकल विषय नै पढेको भएर त्यसले आकर्षित गरेको पनि हुनसक्छ। अनि म साथीहरूसँग सल्लाह गरेरै अन्तर्वार्ता दिने गएँ।'
नाग पोखरीमा अन्तर्वार्ताको लागि लाइन बस्दा आफ्नो पालो २४ औं नम्बरमा रहेको उनलाई अहिले पनि याद छ। अन्तिममा पालो आउने भएपछि फर्किऊँ कि क्या हो भन्ने नलागेको होइन। यता साथीहरूले समेत 'नभए पनि फरक पर्दैन' भनिरहेकै थिए।
'साथीहरू त छँदै छन्, तर घरमा पो के जवाफ दिने होला भन्ने भयो,' उनले हाँस्दै सुनाए, 'म त लास्टमा गएँ। उनीहरूले मलाई केबलकार भनेको के हो? भनेर सोधे। जवाफमा मैले केवलमा चल्ने कार भनिदिएँ। नाम अनुसार नै होला भनेर अनुमान लाएको नि। अनि पछि काम गर्ने कि अह्राउने भनेर सोधेपछि पहिला गर्छु अनि अह्राउछु भनिदिए।'
त्यसको केही दिनपछि उनले आफू मात्र छानिएको थाहा पाए। त्यस दिनदेखि अहिलेसम्म उनको जीवनको यात्रा केबलकार बनाउने अनि चलाउनेमै बितिरहेको छ। विदेशीहरू पनि त्यसमा समावेश भएको कारण उनले धेरै कुरा प्रत्यक्ष सिक्न पाए। आफ्नो क्षमता तिखार्न पाए। उनी सुपरभाइजर समेत भए।
'त्यसबेला अहिलेजस्तो हरेक कुरामा इन्जिनियर भन्ने चलन नै थिएन। म पनि त एउटा साधारण मेकानिक्स न थिए,' उनले भने।
केबलकारको पहिलोपटक परीक्षण गर्दा बोका राख्ने क्यारेटमा उनी तलबाट माथि पुगे। त्यसबेला डर भन्दा पनि उत्साहित भएको उनी सम्झन्छन्।
'ओहो! हामी क्यारेटमा माथि पुग्दा मनकामनाको डाँडा भरि पूरै मान्छे थिए। अहिले सम्झिँदा पो रमाइलो लाग्ने रहेछ,' खुसी हुँदै उनले भने।
केबलकार बाहेक अरू सोचेनन्
ललितपुरको मंगलबजारमा जन्मिएका उनका बा गाडीको मेकानिक थिए। उनी पाँच कक्षा पढेपछि कुमारीपाटीमा बसाइँ सरे। उनका बा'ले उनलाई पनि मेकानिकल काम सिकाए। घरको कान्छो छोरा भएकाले उनलाई पढाइ र काम सिकाउन बा'ले कुनै कसर बाँकी राखेनन्। प्रदिपलालले बा'सँग सकेको जति काम सिके। गाडी लगायत घरको सबै मेकानिकल काम उनैले गर्थे।
संगीतको शौकले साथीहरूसँग उनीहरूले सांगीतिक ब्याण्ड पनि खोलेका थिए। लामो कपाल पाले। पाटनमै पहिलोपटक अंग्रेजीमा कन्सर्ट गरे। समय बित्दै जाँदा ब्याण्ड पनि सुस्ताउँदै गयो। मुख्य गायक दीपक बज्राचार्य बाहेक सबैले आ-आफ्नो बाटो रोजे।
प्रदिपलालले मनकामना केबलकारमा १८ वर्ष बिताए। पछिल्लो ६ वर्षदेखि भने उनी चन्द्रागिरि केबलकारको मुख्य टेक्निसियनको रुपमा कार्यरत छन्। यहाँको सम्पूर्ण केबलकारको मर्मत सम्भार उनैले गर्छन्। डोजरले केबलकार तानेको देखि हाइड्रोलिक प्रेसले तानेकोसम्म उनले अनुभव गरेका छन्। यसबीचमा उनले साधनहरूमा धेरै परिवर्तन देखे।
'साहु फरक भयो त्यत्ति हो,' उनी हाँस्दै भन्छन्, 'अरू त गर्दै जाँदा हुने रहेछ। त्यो बेला आएका विदेशीहरूबाट धेरै सिक्न पाइयो। पछि त प्रतिस्पर्धा जतिकै माहोल पनि बनिहाल्यो नि।'
उनका अनुसार अहिले चन्द्रागिरिमा मान्छे चढ्न ३८ वटा, ब्यागेजको लागि दुइवटा, ब्यागेज मर्मत सम्भारको लागि एउटा गरेर जम्मा ४१ वटा डब्बा छन्। मर्मत सम्भारको लागि आवश्यक सम्पूर्ण कुरा नेपालमै भएको समेत उनी बताउँछन्। बिचमा उनले अन्नपूर्ण केबलकारमा पनि काम गरे।
'अन्नपूर्ण केबलकार ६ वर्षदेखि बन्द थियो। त्यसलाई अझै एक वर्ष त्यसै राखेको भए सबै कोल्याप्स हुने रहेछ,' उनले सुनाउँदै गए, 'त्यसमा टेक्निकल समस्याहरू धेरै रहेछन्। केही वर्ष त्यहाँ बसेँ, अहिले फेरि चन्द्रागिरिमै फर्किएको छु।'
नेपालको भूभागमा केबलकारको एकदम धेरै सम्भावना र आवश्यक भएको उनले अनुभव गरेका रहेछन्।
'त्यस्तो गाह्रो त छैन। सबै टेक्निकल कुरा हो। त्यो जानेपछि भइहाल्यो,' उनी भन्छन्, 'नत्र त भूगोलको हिसाबले केबलकारको धेरै सम्भाव्यता छ। आम्दानी पनि राम्रै भएको देखेको छु। यसो हेर्दा रोप वे कै अर्को स्वरूप न हो।'
नयाँ पुस्ताहरू पनि यसमा आकर्षित भइरहेकामा उनी खुसी छन्।
चन्द्रागिरि केबलकारमा उनको राज
चन्द्रागिरिमा केबलकारको सुविधा आएपछि सुरू सुरुमा मान्छेहरू केबलकार चढ्नै भनेर आउँथे। तर, अहिले चाहिँ धेरै मान्छेहरू भालेश्वरको दर्शन गर्ने भनेर आउने गरेको उनले बताए। उनका अनुसार चन्द्रागिरिमा भइपरी आउने दुर्घटनाबाट बच्न तीनसय वटा सेन्सर छन्। जसमा ढोका नलागेमा, धेरै तौल भएमा, हावाहुरी लागेमा, चट्याङ लागेमा लगायतको कुराहरूमा बन्द हुने हुन्छ। चन्द्रागिरिमा हिउँ पर्दा धेरै भीड हुने गर्छ। तर, त्यस्तो अवस्थामा पनि केही अप्ठ्यारो नपर्ने उनी बताउँछन्।
'युरोपतिर त सहज होस् भनेर हिउँ पर्ने बेलैमा केबलकार चलाउँछन्। यता पनि हिउँले केही अप्ठ्यारो पर्दैन,' उनी भन्छन्,' जे होस् हामीसँग पनि एकखालको राम्रै साधनहरू छन्।'
भुकम्प बाहेक अन्य कुनै पनि कारणले नेपालको केबलकारमा क्षति नहुने पनि उनले सुनाए।
'२०७२ सालको भुकम्पको बेलामा पनि केबलकार चलिरहेकै हो नि। तर, केही क्षति भएन। त्यसबाट त हामीले भुकम्प प्रतिरोधी बनाएका रहेछौँ भन्ने पुष्टि हुन्छ नि हैन!' उनले भने।
त्यसबाहेक डोरीमै केही समस्या आयो भने 'कोल्याप्स' हुने नत्र भए सात प्रतिशत जोखिम कम भएको उनको दाबी छ। केही गर्दा पनि भएन भने उद्धारको लागि पनि एउटा समूह तयारी अवस्था रहन्छ।
'मेकानिकल काममा बल र बुद्धि दुवै लाग्ने रहेछ। अहिलेसम्म मिस्टेक भएको छैन। मिस्टेक त गर्नै हुँदैन। वान मिस्टेक गेम फिनिस भन्या जस्तै हो,' उनले भने।
उमेरले ५५ वर्ष भएका उनी अहिले पनि सबेरै अफिस आइपुग्छन्। अनि अबेर राति अफिसबाट निस्कन्छन्। संगीतको शौकलाई पनि मर्न दिएका छैनन्। वार्षिकोत्सवमा सांगीतिक कार्यक्रम गर्दा गाउने/बजाउने गर्छन्।
'अब त पहिलेको जस्तो जोश-जाँगर भएन। त्यै भएर पछिको लागि भनेर योजना पनि बनाएको छैन। पछि रिटायर भइहाल्छु। भयो भने सल्लाहकार भएर काम गर्छु,' उनले हाँस्दै सुनाए।
फागुन २१, २०८० सोमबार १८:५६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।