गठबन्धन टुटेपछि शेखर : ‘हाम्रा सबै मन्त्री र मुख्यमन्त्रीका पद गए, प्रचण्डजीले बाचा भुल्नुभयो’

गठबन्धन टुटेपछि शेखर : ‘हाम्रा सबै मन्त्री र मुख्यमन्त्रीका पद गए, प्रचण्डजीले बाचा भुल्नुभयो’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन टुट्दा पार्टीलाई घाटा मात्र नहुने बताएका छन्।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि डा. कोइरालाले गठबन्धन टुट्दा कांग्रेसलाई तत्कालका निम्ति घाटा भए पनि दीर्घकालमा फाइदा हुने बताए।

‘गठबन्धन टुट्दा तत्कालका लागि घाटा देखिन्छ। हाम्रा केन्द्र सरकारका मन्त्री, प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरूका पद गएका छन्। उहाँहरूले सरकारबाट जनतामा डेलिभरी दिने अवसर टुटेको छ,’ उनले भने, ‘तर, यसको माने यो होइन कि कांग्रेसले सब चिज गुमायो। कांग्रेसलाई अर्को अवसर आएको छ, जनतामा जाने र पार्टी निर्माण गर्ने।’

उनले हिजो पनि कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने पक्षमा रहेको भन्दै माओवादी केन्द्रको आग्रहमा गठबन्धन गर्नुपरेको बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोड्दा जनतासँग गरेका शान्ति, विकास र स्थिरताको वाचामा चुकेको पनि उनले बताए।

‘हिजो ०७९ को चुनावमा हामी एक्लै चुनावमा जान चाहन्थ्यौँ। स्थानीय तहको चुनावदेखि नै उहाँहरू गठबन्धनमा रहन चाहनुभयो। कांग्रेसले त बाध्यात्मक रूपमा मात्र गठबन्धन गरेका थियो,’ कोइरालाले भने, ‘जनतासँग गरेका वाचा प्रचण्डजीले भुल्नुभयो। अब उहाँलाई नै जनताले सोध्नेछन्- उहाँको वाचा कहाँ गयो?’

कांग्रेसका नेता-कार्यकर्ताले गठबन्धन टुटेर निराश हुनु नपर्ने उनले बताए।

२१ फागुन, २०८०, १६:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।