सार्वजनिक मञ्चबाट अन्य दललाई प्रचण्डको सन्देश : मलाई उपयोग गर्न खोजे लात्तीले हानेर निस्कन सक्छु’

सार्वजनिक मञ्चबाट अन्य दललाई प्रचण्डको सन्देश : मलाई उपयोग गर्न खोजे लात्तीले हानेर निस्कन सक्छु’

काठमाडौं : गत वर्षको पुस १० गते एमाले-रास्वपासहितको गठबन्धन बनाएर नेपाली कांग्रेसलाई लात हानेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले’केपी ओलीले कामै गर्न दिएनन्’ भन्दै कांग्रेससहितको गठबन्धन बनाएर फागुन १२ मा एमालेलाई लात हाने।

एमालेसहितको गठबन्धन छाडेर कांग्रेससहितको गठबन्धन बनाउन त्यो बेलामा प्रचण्डले बहाना बनाएका थिए। राष्ट्रपतिको निर्वाचन। सहमति अनुसार राष्ट्रपति एमालेबाट निर्वाचित हुनुपर्ने थियो। कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सारेपछि उनले कांग्रेसको उम्मेदवारलाई साथ दिए। गठबन्धन तोडियो।

प्रचण्ड दुई वर्ष, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एक वर्ष अनि कांग्रेस सभापति शेरबहादुर देउवाले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो। सहमति अनुसार सत्ता हस्तान्तरण गर्न सात महिना मात्र बाँकी रहँदा प्रचण्डले फागुन २१ कांग्रेस-एकिकृत समाजवादीसहितको गठबन्धनलाई लात्ताले हान्दै पुन पुस १० को गठबन्धनमा फर्किए।

एमालेसँगको गठबन्धन छाड्दा प्रचण्डले ‌ओलीले उपयोग गर्न खोजेको तर्क गरेका थिए। अहिले उनले कांग्रेसले उपयोग गर्न खोजेको, कामै गर्न नदिएको दाबी गरिरहेका छन्।

सत्ता बदल्ने निर्णय गरेकै दिन सोमबार सार्वजनिक कार्यक्रममा उनले असभ्य भाषा प्रयोग गर्दै भने’ प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने कुनै पनि बेला लात्तीले हानेर निस्कन सक्छु।‘

उनले कुनै दल विशेषको नाम नलिई लात हान्ने बताए पनि उनले आफ्नो स्वार्थ अनुसार बदलिने राजनीतिक समीकरण अनुसार प्रतिस्पर्धी दललाई प्रतिक्रियावादीको कित्तामा चढाउने गरेका छन्।

उनले पहिला एमालेलाई प्रतिगमनकारी र प्रतिक्रियावादीको कित्तामा राखेर आलोचना गर्ने गरेका थिए। बिचमा प्रतिक्रियावादीको कित्तामा कांग्रेस पर्ने गरेको थियो। 

फागुन २१, २०८० सोमबार १६:२०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।