विष्णु खत्रीले आपत्ति जनाएपछि ‘दुना टपरी’ बद्लिएर ‘मनै नपरी दुना टपरी’ बन्यो

विष्णु खत्रीले आपत्ति जनाएपछि ‘दुना टपरी’ बद्लिएर ‘मनै नपरी दुना टपरी’ बन्यो

काठमाडौँ : केही दिनअघि ‘दुना टपरी’ बोलको गीत विवादमा आयो। गीतको नामलाई लिएर गायक विष्णु खत्रीले आपत्ति जनाएका हुन्।

उनले ‘दुना टपरी’ नामको गीत सार्वजनिक गर्न नपाउने र सार्वजनिक गरे कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए। नाममा मात्र होइन, लय तथा शब्दमा पनि उनको आपत्ति थियो।

गायक खत्रीले चेतावनी दिएपछि अन्ततः गीतको नाममा फेरबदल भएर सार्वजनिक भएको छ।

गत शुक्रबार टि.एम. म्युजिक प्रोडक्सन युट्युब च्यानलबाट ‘दुना टपरी’ बोलको गीत सार्वजनिक भएको थियो। गायक खत्रीले गीतको नाममा आपत्ति जनाएपछि ‘मनै नपरी दुना टपरी’ राखिएको छ।

गीतको नाम मिलेपछि यस गीतका निर्माता तथा गायक मदन ढकालले विष्णु खत्रीप्रतिको सम्मानलाई लिएर नाममा फेरबदल गरेको बताए।

उनले भने, ‘गीत संगीतमा चलचित्र तथा पुस्तक तिरको जस्तो नियम छ जस्तो लाग्दैन। फेरि यसअघि पनि एउटै नाममा धेरै गीत सार्वजनिक भएका थुप्रै उदाहरणहरू छन्। दुना टपरी नाममा पनि यसअघि अन्य गीत नआएका होइनन्।’

गायक ढकालले अग्रज व्यक्तित्वको सम्मान गर्दै नाम फेरिएको जानकारी दिए।

उनले भने, ‘उहाँको वर्षौँदेखिको गीतसंगीत क्षेत्रको योगदानलाई हेर्दै सम्मानका लागि फेरबदल गरेका हौं।’

गायक ढकालको गीत ‘मनै नपरी दुना टपरी’मा उनलाई गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन्।

यस गीतलाई समिर घिमिरेले लेखका हुन् भने लय संगीत तिर्थ खत्रीले भरेका छन्। बिनोद भण्डारी र सारिका केसीको अभिनय रहेको भिडियोलाई नवराज उप्रेतीको टिमले खिचेका हुन्।

निर्देशन बिनोद भण्डारीले नै गरेका हुन्।

फागुन २१, २०८० सोमबार १५:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।