एमालेसँग पार्टी एकताको कुरा भएको छैन, तर वामपन्थी ध्रुवीकरण हुनु आवश्यक छ : सचिव पौडेल

एमालेसँग पार्टी एकताको कुरा भएको छैन, तर वामपन्थी ध्रुवीकरण हुनु आवश्यक छ : सचिव पौडेल

काठमाडौं : माओवादी सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई कोर्स करेक्सन गरेर वामपन्थी ध्रुवीकरणतिर लैजानुपर्ने बताएका छन्।

सोमबार माओवादीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।

उनले भने, ‘नेपालको राजनीतिलाई कोर्स करेक्सन गरेर वामपन्थी ध्रुवीकरणतिर लैजानुपर्छ, अन्यथा वामपन्थीहरु झन् कमजोर हुने भए भन्ने सबैको समीक्षा भयो।’

वामपन्थी एकतामा जोड दिएर पुराना गल्तीहरुलाई नदोर्याउने गरी समझदारी भएको बताउँदै उनले पार्टी एकताको कुरा भने अहिले नै अघि नबढेको बताए।

उनले थपे, ‘पार्टी एकताको कुरा चैँ अगाडि बढेको छैन, तर वामपन्थी ध्रुवीकरण लैजाने गरी कोर्स करेक्सन गर्नुपर्ने आवश्यक छ भन्ने कुरामा समझदारी बनेको छ।’

समाजवादी मोर्चा यथावत रहने भन्दै उनले माधवकुमार नेपाल र उनले नेतृत्व गरेको दललाई पनि सँगै लिएर अघि बढ्ने विषयमा आफूहरूले निर्णय गरेको उनले बताए।

‘समाजवादी मोर्चा यथावत रहन्छ। वामपन्थी पृष्ठभूमि भन्नेबित्तिकै माधवजी पनि त्यहि पृष्ठभूमिमा हुनुहुन्छ। माधवजी र उहाँले नेतृत्व गरेको पार्टीलाई पनि सँगै लिएर जाने, संसदमा नभए पनि विलप्पजीहरूलाई सँगै लिएर जाने भन्ने निर्णय गरेका छौं।’

वामपन्थी भनेपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई सँगै  लिएर जान एमाले पनि सकारात्मक हुनुपर्ने उनको भनाइ छ।

‘उहाँहरूको भाषा र साइकोलोजी बुझेर हामीले यो निर्णय गरेका हौं। इगो लिएर त हिजो बिग्रियो नि! वामपन्थी जनमत बिग्रियो नि! केही पनि नहुनुभन्दा त सबैलाई सँगै लिएर जानु ठिक होला नि त!’

केन्द्रमा सरकार परिवर्तनसँगै प्रदेशका मुख्यमन्त्रीहरू पनि फेरिन र आलोपालोअनुसार सरकार अघि बढ्ने उनको भनाइ छ।

फागुन २१, २०८० सोमबार १०:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।