विवादित मन्त्रीलाई राजीनामा गराउने तयारीका साथ बस्न लागेको सत्ता गठबन्धन बैठक स्थगित

विवादित मन्त्रीलाई राजीनामा गराउने तयारीका साथ बस्न लागेको सत्ता गठबन्धन बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ।

गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा विवादित मन्त्रीहरूलाई राजीनामा गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रस्ताव ल्याउँदै थिए।

तर, अन्तिम समयमा आएर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयले बैठक स्थगित हुनुको कारणबारे बताएको छैन। 

गठबन्धनमा मन्त्रीहरूको हेरफेर गर्ने दाहालको प्रस्ताव दुई महिनादेखि अरु नेताहरूले अस्वीकार गर्दै आएका थिए।

तर, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र अन्य राजनीतिक घटनाक्रमले असमझदारी बढाउँदा वर्तमान गठबन्धनमै जोखिम पर्नसक्ने देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा लचिलो बनेको स्रोत बताउँछ।

प्रधानमन्त्री दाहालले आइतबार विहानदेखि देउवासहित गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक-पटक भेटवार्ता गरेका थिए।

गठबन्धन बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयनदेखि मन्त्री हेरफेर र संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)विधेयक लगायतका विषयमा छलफल हुने बताइएको  थियो।

एक मन्त्रीका अनुसार आजको गठबन्धन बैठकले टीआरसी विधेयकलाई संसद्बाट पास गरेर टुंगोमा पुर्याउने विषयमा निर्णय लिनेसमेत  भनिएको थियो।

फागुन २१, २०८० सोमबार ०८:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।