संघीय संसद्का दुवै सदनको बैठक बस्दै, सभामुखको पाँचौं रुलिङ मान्ला सरकारले?

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, सभामुखको पाँचौं रुलिङ मान्ला सरकारले?

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दै छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बाेलाइँदा राष्ट्रिय सभाको बैठक १ बजेर १७ मिनेटमा बस्ने तय भएको छ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले पाँचपटक रुलिङ गरिसकेका छन्। यसअघि बसेको बैठकमा त उनले समय तोकेरै फागुन २१ गते बस्ने बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए।

त्यसअघि पटक-पटक सभामुखले रुलिङ गरे पनि सरकारले टेरपुच्छर लगाएको छैन। आजको बैठकमा सरकारले जवाफ दिन्छ वा दिँदैन, हेर्नलायक हुनेछ।

आजको प्रतिनिधिसभा बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि छ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगका ६४ औँ वार्षिक प्रतिवेदन २०७९/८० सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

फागुन २१, २०८० सोमबार ०७:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।