हिटलर बन्ने हरिवंशको रहर
काठमाडौँ : रङ्गमञ्च, टेलिसिरियल अनि ठूलो पर्दा, अभिनेता हरिवंश आचार्यले यी तीनै माध्यममा विभिन्न पात्रको अभिनय गरिसकेका छन्।
कतै नायक त कतै खलनायक, के बनेनन् उनी। तै पनि अभिनयको भोक कहाँ मर्छ र! उनले आइतबार आफ्नो इच्छा व्यक्त गरिहाले' हिटलर।' उनी हिट्लरको अभिनय गर्न चाहन्छन् रे।
प्रसङ्ग थियो आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’को ट्रेलर रिलिजको। उनी सो फिल्ममा खलनायकको चरित्रमा देखिँदै छन् जो नेताको रूपमा छ।
सार्वजनिक ट्रेलर अनुसार उनै हरिवंशको कालोधन लुकाउने हैरानीलाई हाँस्यरस दिएका छन् निर्देशक प्रदीप भट्टराईले। आधाउधी कथा उनले ट्रेलरमै भनिसकेका छन्। ट्रेलरमै कथा खुलाउनु भट्टराइको पुरानै ट्रिक हो।
भिलेन किन? हरिवंशले भने ‘फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक छ। जसरी बत्ती बाल्नका लागि पोजेटिभ र नेगेटिभ तार चाहिन्छ, त्यसरी नै फिल्मको बत्ती बाल्न हिरो र भिलेन आवश्यक पर्छ।’
उनले दमदार ‘भिलेन’को भूमिकामा अभिनय गर्ने इच्छा राख्दै भने ‘म हिटलर चरित्र निर्वाह गर्न चाहन्छु। किनकि मैले हरिबहादुरको जस्तो चरित्र पनि निभाएँ । त्यसकारण अझ शक्तिशाली चरित्रमा आफूलाई उभ्याउन चाहन्छु।’
हरिवंशका अनुसार नकारात्मक चरित्र खेल्दा उनले ढुङ्गाको चोट पनि खाएका छन् उनी गुह्येश्वरी मन्दिरमा पुग्दा त्यहाँ फूल बेच्ने एक महिलाले उनलाई ढुङ्गाले हानेकी रहिछिन्।
‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराईले बेरोजगार युवालाई राजनीतिक दलका नेताले कसरी दुरुपयोग गरेका छन् भनेर ‘महाजात्रा’ मा देखाइएको बताए।
‘म सिक्वेलभन्दा अलिक फरक कथामा फिल्म बनाउन चाहन्थेँ। ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि अलिक फरक कथामा फिल्म बनाउन मन थियो। युवालाई कसरी नेताले दुरुपयोग गरिरहेका छन् भन्ने कुरा दिमागमा आएपछि ‘महाजात्रा’ लेखेँ,’ उनले भने।
फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ।
फागुन २०, २०८० आइतबार २३:२८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।