नेपाल चेम्बर अफ कमर्सको आयोजनामा 'चेम्बर एक्स्पो २०२४' आयोजना हुँदै
काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा फागुन २४ गतेदेखि २८ गतेसम्म सातौँ चरणको 'चेम्बर एक्स्पो २०२४' आयोजना हुने भएको छ।
स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको जानकारी दिएको छ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको आयोजकले बताएको छ।
उक्त मेलामा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुने कार्यक्रम रहेको छ।
एक्स्पोमा नेपालमा रहेको रुसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन्।
नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रूपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ।
फागुन २०, २०८० आइतबार २३:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।