बालविवाह रोक्न गाउँपालिकाको जुक्ति : निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति लेख्नैपर्ने !

बालविवाह रोक्न गाउँपालिकाको जुक्ति : निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति लेख्नैपर्ने !

काठमाडौं : रूकुमपश्चिमको आठबिसकोट नगरपालिका -३ ले बाल विवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ।

आठबिसकोट -३ का वडाध्यक्ष केशरमान विकले बाल विवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’ मा अनिवार्य रूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए।

उनले वडामा बाल विवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए।

विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागु गरेको उनको भनाइ छ।

वडामा यसवर्ष १० जोडीले बाल विवाह गरेको तथ्यांक रहेको छ। यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ।

‘विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्ता लगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ। वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्ने गरी लागेका छौँ। बाल विवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ’, वडाध्यक्ष विकले भने।

वडाको नियम उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ।

फागुन २०, २०८० आइतबार १३:३६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।