मन्त्रीहरू फेरबदल गरेर भएपनि गठबन्धन पाँच वर्षै चलाउनुपर्छ : परराष्ट्रमन्त्री

मन्त्रीहरू फेरबदल गरेर भएपनि गठबन्धन पाँच वर्षै चलाउनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्।

नेपाली कांग्रेस रूपन्देही, क्षेत्र नम्बर ३ कार्यसमितिले आज भैरहवामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको बताएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साउदले मन्त्रीहरू हेरफेर गरेर भएपनि गठबन्धन कायम राख्नुपर्ने आशय व्यक्त गरेका छन्।

‘जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ’, मन्त्री साउदले भने‚ ‘प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ।’

फरक प्रसंगमा मन्त्री साउदले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले भारतबाट हुनसक्ने सहयोगका लागि विभिन्न भ्रमणका वेला गम्भीर रूपमा कुरा राखेको बताए।

उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्न यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए।

फागुन १९, २०८० शनिबार १५:१९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।