७७ वर्षिय ट्रम्पलाई अमेरिकाको राष्ट्रपति बन्न नदिने दाउमा निक्की, तर प्राइमरी चुनाव जित्नै सकस

एजेन्सी : यसैवर्ष अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीमा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ। डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडन नै उम्मेदवार बन्ने पक्का छ।
रिपब्लिकन पार्टीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र निक्की हेली प्रतिस्पर्धामा छन्। हेली भन्दा ट्रम्प पार्टीको प्राइमरी इलेक्सनको प्रतिस्पर्धामा धेरै अगाडि छन्।
तर पनि हेलीले अझैंसम्म चुनावी अभियानलाई जारी राखेकी छिन्। यसबीचमा हेलीले रिपब्लिकन पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने चर्चा चलेको थियो। तर, हेलीले यसलाई अफवाह मात्र भएको बताएकी छिन्।
उनले आफू जहिले पनि रिपब्लिकन पार्टीको कार्यकर्ता भएको र आउँदो चुनावमा स्वतन्त्र उम्मेदवार हुने कुनै सम्भावना नभएको पनि बताइन्।
वासिङ्टन डिसीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै हेलीले भनिन्, ‘मैले कहिल्यै स्वतन्त्र उम्मेदवार बन्ने कुरा गरिनँ। म हृदयमा रिपब्लिकन नेता हुँ।’
उनी पार्टीको प्राइमरी इलेक्सनमा अर्का उम्मेदवार ट्रम्प भन्दा निकै पछाडि परे पनि आफूले हौसला नहारेको उल्लेख गरेकी छन्। प्राइमरी इलेक्सनमा ट्रम्प अगाडि भएपनि हेलीले मैदान नछोड्ने बताइन्।
‘जब म राष्ट्रपतिको लागि दौडिएकी थिएँ, त्यहाँ १४ जना प्रतिस्पर्धी थिए र मैले १२ जनालाई हराएकी थिएँ। अब मैले अझै एक जनालाई हराउनु छ,’ उनले भनिन्।
रिपब्लिकन उम्मेदवार बन्ने दौडमा ५१ वर्षीय हेलीले पूर्वराष्ट्रपति ७७ वर्षीय ट्रम्पसँग प्रतिस्पर्धा गर्दै आएकी छन् तर, उनले अहिलेसम्म एउटा पनि प्राइमरी चुनाव जित्न सकेकी छैनन्। पार्टीको आन्तरिक प्रतिस्पर्धामा हेली ट्रम्प भन्दा ६४ अंकले पछाडि छिन्।
हेलीले ट्रम्पलाई निशाना बनाएर ट्रम्पको शासनकालको चार वर्ष थप अराजकता सहन नसक्ने बताउँदै आएकी छिन्।
फागुन १९, २०८० शनिबार १४:५४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।