नेदरल्यान्ड्समाथि नेपालको छ विकेटको जित
काठमाडौं : त्रिकोणात्मक टी२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले पराजित गरेको छ।
नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। ३४ बलको सामना गरेका उनले तीन चौका र एक छक्का हिर्काए।
गुल्सन झा ३६ बलमा ३ चौका र एक छक्काको मदद्तमा ३८ रन बनाएर आउट हुँदा कुशल भुर्तेल १२ र आशिफ शेखले मात्र ८ रन बनाए।
दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल अविजित रहँदै क्रमश: ४ र २ रन जोडे।
नेदरल्यान्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्तले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनमा समेटिएको थियो।
उसका लागि म्याक्स ओडाउडले सर्वाधिक ३४ रन बनाउँदा टीम भान्डर गुटेन २४, कप्तान स्कट एडवार्ड १८ रन बनाए। रोयलफ भान्डरमा २३ रन बनाएर अविजित रहे।
नेपालका प्रतिश जिसीले चार विकेट लिँदा कुशल मल्ल र करण केसीले समान दुई-दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए
जितसँगै नेपालले चार खेलमा दुई अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ।
आजको खेलमा जितेसँगै नेपालको फाइनलमा स्थान बनाउने सम्भावना बलियो भएको छ। यद्यपि फाइनलको लागि भने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ।
फागुन १९, २०८० शनिबार १४:४१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।